काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेको बताए ।
उनले संसदमा अड्किएर रहेका तथा विचाराधिन विधेयकहरुलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताए ।
उनले सरकारको वेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनैपनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने उल्लेख गरे ।
सांसद दाहालले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेकोप्रति विरोध जनाए । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उनले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको बताए । उनले सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा पुरानै हो कि फेरिएको हो सोध्नुपर्ने बताए ।
सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्याएको उनको भनाई छ ।
सांसद दाहालले वर्तमान सरकारसँग नैतिकता नरहेको बताए । दाहालले शुन्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले जवाफ नदिने गरेको बताए ।