काठमाडौं । कलाकार समेत रहेका शिक्षक दीपेन्द्र प्रसाईँले टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेकै भरमा काठमाडौंको एक कलेजले आफूलाई जागिरबाट निकालेको बताएका छन् ।
सुकेधारास्थित बागमती कलेजले पाँच वर्षदेखि शिक्षकको रुपमा कार्यरत प्रसाईंलाई ‘तपाईं नयाँ काममा लाग्नुभएछ, त्यसका लागि बधाई । तर, तपाईंलाई कलेजले चाहिँ यो वर्षपछि डिसकन्टिन्यु गरेको छ ।’ भन्दै हटाएको शिक्षक प्रसाईँले बताए ।
जेठ ११ गते प्रसारण भएको शोको पहिलो भागमा प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेका थिए । सो भागमा कलेज र बोर्डिङ स्कुलको विकृति विसंगतिलाई लिएर व्यंग्य गरिएको थियो । विद्यालयहरुले महंगो शुल्क असुलेर सोही अनुसारको सेवासुविधा नदिएको विषयमा उक्त शो मा व्यंग्य गरिएको थियो ।
शिक्षक भएर आफ्नै कलेजको कुरा बाहिर ल्याएको भन्दै आफूलाई निष्कासन गरेको प्रसाईंको जिकिर छ ।
उनले भने, ‘मैले त समग्र शैक्षिक क्षेत्रको विकृतिलाई चित्रण गरेको थिएँ । कुनै पनि स्कुल कलेजको नाम लिएको थिइनँ । तर, उहाँहरुले त मानौं आफ्नै कलेजलाई प्रहार गरेको अर्थमा लिनुभयो, जुन मैले सोचेकै थिइनँ ।’
आफूले जागिर गुमाएको विषयमा भन्दा पनि प्रवृतिमाथि आफूलाई दुःख लागेको बताउँदै उनले भने, ‘जागीर त अन्यत्र पाउँछु नै । मलाई जुन तरिकाले निकालियो, त्यो प्रवृत्तिप्रति दुःख लागेको छ । मैले एउटा कलाकारका रुपमा समग्र शैक्षिक क्षेत्रको बेथितिलाई उजागर गर्न खोज्दा मेरो कलेज सञ्चालकको टाउको दुख्नुपर्ने केही थिएन । मैले आफ्नो कलेजलाई मात्र निशाना बनाएको पनि थिइनँ ।’
यसरी शिक्षासँग सम्बन्धित नाटक बनाउँदा कलेजले निकाल्ने, स्वास्थ्यको क्षेत्रमा भएको विकृतिमाथि प्रस्तुति दिँदा त्यहाँबाट निकालिने परिपाटी हुँदै गयो भने कुन कलाकारले समाजमा भएका विकृतिविसंगतिमा अभिनय गर्ला ? भन्ने उनको प्रश्न थियो ।
कुनै विकृतिविरुद्धको अभिनयकै आधारमा पेशाबाट हटाइन्छ भने यस प्रवृतिले कुनै पेशासँगसँगै कलाकारितालाई अगाडि बढाइरहेका आफू जस्ता हजारौं त्रसित हुनु परेको उनको भनाइ थियो ।
आफूमाथि परेको अन्यायविरुद्ध र भोलि कसैलाई पनि यस प्रकारको घटना नहुन दिन आफू कानुनी उपचार तर्फ जानसक्ने बताउँदै उनले सामाजिक रुपमा पनि यसप्रकारका कलेजको मनोमानी र रवैयालाई ठेगान लगाउनु अनिवार्य भएको बताए ।
हेर्नुस् कमेडी हबमा दीपेन्द्रकाे प्रस्तुति :