बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नागकिरता विधेयकबारे गृह र कानूनमन्त्रीलाई सुवास नेम्वाङले के भने ?

सोमबार, असार २७ २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गरेका छन् ।

आइतबार साँझ नेम्वाङ निवास बालुवाटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए । नेता नेम्वाङसँग गृहमन्त्री खाँण र कानूनमन्त्री शर्माले नागरिकता विधेयक पास गर्न सहयोगका लागि आग्रह गरेको जानकारी दिए ।

भेटमा नेता नेम्वाङले एमाले नागरिकता विधेयकमा सकारात्मक रहेको तर विधेयकमा के के विषय समेटिएका छन् भन्ने कुरा हेर्न बाँकी रहेको बताएको जनाइएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरेको थियो । 

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

सरकारले प्रतिनिधिसभामा दर्ता भइसकेको विचाराधीन नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएर पुनः वैवाहिक अङ्गीकृत नागरिकता वितरण खुकुलो बनाउने गरी अर्को विधेयक दर्ता गरेको छ।

प्रचलित नागरिकता ऐनको दफा ५ मा रहेको प्रावधान खुकुलो भएको आवाज उठेपछि तत्कालीन सरकारले २०७५ साउन ४ मा दर्ता गरेको विधेयकमा केही कडाइ गरिएको थियो। 

विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्ने विश्वास सरकारको छ ।