बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

परिवारवादको मोहका कारण नेपालका सत्तारुढ दलका नेताहरूले देशलाई श्रीलंकाको बाटोमा डोर्‍याइरहेका छन्: विष्णु रिजाल

आइतबार, असार २६ २०७९

काठमाडौं । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राजनीतिमा परिवारवादको मोहका कारण नेपालका सत्तारुढ दलका नेताहरूले देशलाई श्रीलंकाको बाटोमा डोर्‍याइरहेको आरोप लगाएका छन् । 

उनले आज सामाजिक सञ्जालमा नातावाद, कृपावाद र परिवारवादले नेपाललाई श्रीलंका बनाउने देखिएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा रिजालले नेपालमा पनि केही पार्टीका नेताहरुमा देखिएको परिवारवादको मोहले तिनीहरुलाई पनि श्रीलंकाकै नियतिबाहेक अन्यत्र लैजाने ठाउँ नभएको बताएका छन् । उनको यो टिप्पणी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड लक्षित छ ।

उनले लेखेका छन्, ‘भाइ, छोरी–ज्वाइँलाई पोलिट्ब्युरो, सांसद, मेयर, छोरालाई स्यानिटरी प्याडको जिम्मा, श्रीमतीलाई व्यापारी डिल गर्ने जिम्मेवारी–नेपाली राजनीतिमा राजापाक्षे–पथकै अनुकरण हो ।’

यस्तो छ उनको सामाजिक सञ्जाल फेसबुकमा भनाइ

राजनीतिमा नातावाद, कृपावाद र परिवारवादले अन्ततः श्रीलंका बनाउने हो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, रक्षामन्त्री– सबै पद परिवारमै राखेको राजापाक्षे परिवारले आज श्रीलंकालाई जहाँ पुर्याएको छ, त्यसैको परिणामस्वरुप राष्ट्रपति भाग्नुपरेको छ, प्रधानमन्त्रीको घरमा जनताले आगो लगाएका छन् । देश पूरै ठप्प छ । कुनै बेला दक्षिण एसियामा सबै मानव विकास सूचकांकमा अघि रहेको श्रीलंका आज टाट पल्टेर संसारसँग भिख मागिरहेको छ ।

नेपालमा पनि केही पार्टीका नेताहरुमा देखिएको परिवारवादको मोहले तिनीहरुलाई पनि श्रीलंकाकै नियतिबाहेक अन्यत्र लैजाने ठाउँ छैन । भाइ, छोरी–ज्वाइँलाई पोलिट्ब्युरो, सांसद,मेयर, छोरालाई स्यानिटरी प्याडको जिम्मा, श्रीमतीलाई व्यापारी डिल गर्ने जिम्मेवारी–नेपाली राजनीतिमा राजापाक्षे–पथकै अनुकरण हो, जसबाट क्रमशः मुुलुक खोक्रो हुन्छ, परिवार मोटाउँछ र अन्ततः राजनीतिमा राजापाक्षे परिवारकै नियति भोग्दछ ।