बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् ।
आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयरमा एमालेकी उम्मेदवार मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।
एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ मेयरमा विजयी भएका हुन् ।
यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर) ले चार हजार ७२७ मत ल्याएर विजयी भएकी हुन् । उपमेयरमा एमालेकी खड्काले ४ हजार ७२७ ल्याएर विजयी हुँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याएर पराजित बनिन् ।
भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् ।
कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो ।
गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।