काठमाडौं । जापानको प्रहरीले पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या प्रकरणमा सुरक्षा कमजोरी भएको स्वीकार गरेको छ।
नाराका प्रहरी प्रमुख टोमोआकी ओनिजुकाले भने, “सुरक्षा व्यवस्थामा समस्या थियो भन्ने कुरा अस्वीकार गर्न सकिन्न।”
दक्षिणी शहर नारामा शुक्रवार राजनीतिक सम्बोधन गरिरहेका बेला एकजना बन्दुकधारीले गोली हानेर शिन्जो आबेको हत्या गरेपछि सम्पूर्ण जापान स्तब्ध भएको थियो।
माथिल्लो सदनका लागि हुने आइतवारको चुनाव कार्यतालिका अनुसार यथावत् छ।
आबेको हत्या भएको दुई दिनपछि आज आइतवार स्थानीय समय बिहान ७ बजेदेखि मतदान शुरू भइसकेको छ।
आबेको हत्याले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी एलडीपी प्रति समर्थन बढेको हुनसक्ने विश्लेषकहरू बताउँछन्। आबे एलडीपीका प्रभावशाली तथा अग्रणी नेता थिए।
तुलनात्मक रूपमा कम शक्तिशाली माथिल्लो सदनको चुनावलाई अधिकांशत: सत्तारुढ दलको जनमत सङ्ग्रहका रूपमा हेर्ने गरिन्छ।
शनिवार थप कडा पारिएको सुरक्षा व्यवस्थाबीच चुनाव प्रचार जारी थियो।
सन्दिग्ध हत्यारा तेत्सुया यामागामीले “निश्चित संस्था” विरुद्ध द्वेष पालेको प्रहरीले बताएको छ।
अनुसन्धानको निकट स्रोतलाई उल्लेख गर्दै जापानी मिडियाले लेखे अनुसार सन्दिग्ध हत्यारा यामागामीले एउटा धार्मिक संस्थाले आफ्नी आमाको आर्थिक अवस्था ध्वस्त पारेको आरोप लगाउँथे र शिन्जो आबे पनि उक्त धार्मिक संस्थासँग सम्बद्ध भएको ठान्थे।
प्रहरीका अनुसार ती सन्दिग्धले आबेलाई आफैले घरमा बनाएको बन्दुकबाट गोली हानेको स्वीकार गरेका छन्।
यामागामीले प्रहरीलाई आफूले जापानको जलसेनामा तीन वर्ष काम गरेको बताएका छन्। हालैका दिनमा उनी पश्चिम जापानको एउटा कारखानामा काम गर्थे।
आबेले सडक किनारामा एकजना उम्मेदवारको पक्षमा भाषण गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो। फोटोहरूमा सन्दिग्ध हत्यारा गोली हान्नु केही बेर अघि आबेको नजिकै उभिएको देखिन्छ।
प्रत्यक्षदर्शीले एकजना व्यक्तिले आबे रहेको स्थानको नजिकै ठूलो बन्दुक लिएर घुमिरहेको देखेको र दुई पटक गोली हानेको बताएका थिए। पूर्वप्रधानमन्त्री त्यसपछि भुईँमा ढले र नजिकै रहेकाहरू स्तब्ध भएर चिच्याइरहेका थिए।
आबेको हत्यामा प्रयोग गरिएको बन्दुक धातु र काठले बनेको प्रहरीले जनाएको छ र त्यो एक प्रकारको टेपले बेरिएको थियो।
पछि सन्दिग्ध हमलाकारीको घरमा कैयौँ अरू घरेलु बन्दुक र विस्फोटक सामग्री फेला परेको थियो।
प्रहरीले हमलाकारी बेरोजगार रहेको जनाएका छन्।
समाचार संस्था रोर्यटसका अनुसार हमलाकारीले प्रहरीलाई आफू आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्न चाहेको बताएका छन्।
गोलीका कारण आबेको घाँटी र मुटुमा गम्भीर चोट लागेको थियो। हमला भएको केही मिनेट उनको चेत कायमै रहेको र प्रतिक्रिया जनाइरहेको भनिए पनि उपचारका लागि लैजाँदासम्म उनको महत्त्वपूर्ण अङ्गले प्रतिक्रिया जनाउन छाडेका चिकित्सकहरूले बताएका थिए।
सन् २०१४ मा जापानमा जम्मा ६ वटा बन्दुक सम्बन्धी हिंसाका घटना भएका थिए जबकि त्यही वर्ष अमेरिकामा बन्दुक हिंसाको सङ्ख्या ३३,५९९ थियो।
जापानमा बन्दुक किन्नु अघि कडा जाँच दिनुपर्ने र मानसिक अवस्था ठिक रहेको स्वास्थ्य परीक्षणबाट देखिनुपर्ने व्यवस्था छ।
आबे पहिलो पटक सन् २००६ मा प्रधानमन्त्री बनेका थिए र पछि २०१२ देखि २०२० सम्म प्रधानमन्त्री बनेपछि स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामा दिएका थिए।
-बीबीसी