बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अटल प्रधानसेनापति शर्मा, जो देशहितमा सैनिकलाई शिक्षण गरिरहेका छन्

शनिबार, असार २५ २०७९

  • विनोद चौलागाई

काठमाडौं। राजनीतिक कदमका कारण विवादमा तान्न खोजिएको नेपाली सेनाको अडानलाई स्पष्ट पार्दै अगाडि बढेका छन् प्रधानसेनापति प्रभुराम शर्मा। उनी राष्ट्रहितका पक्षमा अटल मात्र छैनन्, राजनीतिक दलले शासन प्रणालीमा देखिएका विवादमा सेनालाई तान्दा रणनीतिक जवाफ मात्र होइन, मुलुकहितको स्पष्ट उत्तर दिन पनि सक्षम साबित भएका छन्।

पछिल्लो पटक राजनीतिक विवादमा तानिएका अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनसँगै एसपीपी सम्झौताको पत्रमा सेनालाई तान्ने प्रयत्न गरियो। संसदीय समितिमा उपस्थित भएका प्रधानसेनापति शर्माले स्पष्ट जवाफ दिए,‘पत्र सेनाले लेखेको भए पनि सरकारलाई जानकारी गराइएको थियो। तर यो पत्रको आशय सैनिक सहकार्य होइन, भूकम्पका बेला अमेरिकाले गर्ने सहयोगका लागि हो।’

यति मात्र होइन, इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस)को अंगका रुपमा एसपीपीलाई व्याख्या गरी सदनमा जुहारी र सडकमा प्रदर्शन भइरहेका बेला सेनाले भन्यो,‘मुलुकहित विपरितका कुनै पनि सैन्य सहकार्यमा नेपाली सेनाको सहभागीता हुनेछैन।’

उनले यहि सन्देश माथाहतका सैनिक कर्मचारीलाई पनि निर्देशन दिइसकेका छन्। ‘प्रधानसेनापतिले मुलुक हितविपरितका कुनै पनि रणनीति वा कार्यमा नेपाली सेनाको सहभागीता नहुने स्पष्ट पार्नुभएको छ’, उच्च स्रोतले भन्यो,‘परराष्ट्र सम्बन्धलाई उँचो राख्ने विषय एउटा भयो तर मुलुकहित विपरितका कार्यमा सेनाको सहभागीता नहुने नै उहाँको स्पष्ट र अटल अडान छ।’

भर्खरै मात्र शान्ति सेनामा खटिएका नेपाली सेनाका अधिकारीसहित कर्मचारीसँग लेबनान, सिरियामा साक्षात्कार गरी आएका शर्माले सैन्य कुटनीतिलाई अझ मजबुद बनाउन अमेरिकाले गरेको निम्तो समेत मानेर आएका छन्।

योसँगै मुलुकका साँधसीमाका विषयमा नेपाली सेनाको भूमिका प्रभावकारी हुनुपर्ने स्पष्ट शिक्षण सैन्य कर्मचारीलाई दिएका शर्माले आन्तरिक सुरक्षा सतर्कताका विषयमा पनि शिक्षण गरेका थिए। पछिल्लो पटक भारतसँगको सीमामा तारबार लगाउनुपर्ने भन्ने अर्थमा उनले शिक्षण दिएको बताइएको थियो।

तर सेनामा यस्ता ब्रिफिङ हुने गरेको स्पष्ट पार्दै पूर्व जर्नेल राजेन्द्र थापा भन्छन्,‘नियमित रुपमा हुने ब्रिफिङमा सैन्य भाषामा चलन चलेको छ। तर यसको अर्थ कुनै एक मुलुकलाई तोकेर भनिएको हुँदैन, हाम्रा सीमा जोडिएका क्षेत्रमा सेनाको भूमिका र चासो स्वभाविक रुपमा हुनुपर्छ भन्ने हुन्छ।’

प्रधानसेनापति शर्माका पालामा नै सैन्य संरचनामा पनि फेरबदल भइसकेको थियो। उनी चार कमान्डको संगठनात्मक संरचनाका मुख्य कमान्डर हुन्। उच्च स्रोतले भन्यो,‘नेपाली सेनाको यो कमान्डसँगै उद्दार, विकासमा पनि सक्रियता देखाउनका निम्ति प्रधानसेनापतिको निर्देशन निक्कै प्रशंशनीय छ।’

शर्माले नेतृत्व लिएको आगामी एक महिनामा बर्षदिन पुग्नेछ। ‘एक बर्षमा नै देखिएको यो प्रभावकारीता अर्को दुई बर्षमा अझ सुखद र सैन्य मनोबल उच्च हुने अपेक्षा गरिएको छ’, उच्च सैन्य अधिकारी भन्छन्।