काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनअन्तर्गत जारी मत गणनाका विषयमा घत लाग्दो टिप्पणी गरेका छन् ।
असार २३ गते भएको निर्वाचनको मतगणना जारी रहेकै बेला एमाले नेता थापाले यो चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन् ।
नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप लगाएका छन् ।
वैशाख ३० गते भएको मतदान रद्द गरी पुनः निर्वाचन गराउन महान्यायाधिवक्ता खम्बबहादुर खातीले राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन आयोगको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेर उनीमाथि कारबाहीको सिफारिस गरेको थियो ।
तर, आयोगका प्रमुख आयुक्तसहितको बहुमतले बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसविरुद्ध एमालेका वडाध्यक्ष उम्मेदवार मतगणना माग गर्दै सर्वोच्च अदालत गएका थिए । कामु प्रधानन्यायाधीश दीपक कार्की र महान्यायाधिवक्ता खातीबीच प्रधानन्यायाधीशको च्याम्बरमा छलफल भएलगत्तै कार्कीको इजलासले पुनः मतदानको पक्षमा आदेश दिएको थियो ।
सरकारका महान्यायाधिवक्ता खातीका दाइ रंगबहादुर खाती बुढीगंगामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार छन् । दाइलाई चुनाव जिताउन महान्यायाधिवक्ताले पदीय दुरुपयोग गरेको आरोप छ ।
एमाले स्थायी सदस्य समेत रहेका थापा सोही नगरपालिकाका बासिन्दा हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘बैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाति र खम्ब खातिमात्रै हार्ने थिए । असार २३ को निर्वाचनको परिणामले काङ्ग्रेस सभापति शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाड,आईजिपि धिरज प्रताप सिह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्बोच्च अदालतका प्रधानन्यायाधीश दिपक कार्की एकसाथ हार्दैछन् । शक्तिसंग नझुकने, सत्यसंग नलडने एमालेका आदरणिय अध्यक्ष केपी सर्मा ओलिको संकल्पलाई मार्गदर्शन मान्दै सुर्यमा मतदान गर्ने मेरा आदरणीय नगरबासीमा शिर निहुरयाएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लडने मुर्खता नगर्न सबैमा अपिल गर्दछु । विजयी सबैलाई बधाई । विजयी बन्दै गरेका सबैलाई शुभकामना ।’
असार २३ गते भएको चुनावको जारी मतगणनामा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । ३ हजार ९६२ मतगणना हुँदा एमालेले मेयरमा १ हजार १५२ मतको अग्रता कायम गरेको छ ।
एमालेका उम्मेदवार मेयरमा रामबहादुर बानियाँले २ हजार ४४३ र उपमेयरमा मायाकुमारी खड्का कुवँरले २ हजार ४१७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मेयरमा रंगबहादुर खातीले १ हजार २९१ र उपमेयरमा रिता शाहीले १ हजार ३१२ मत पाएका छन् ।
बुढीगंगा नगरपालिकाको १, २, ९ र १० नम्बर वडाको गणना सम्पन्न भएको छ । वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।