काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा मंसिर २ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।
बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले २ मंसिरमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री देउवाले मंसिर २ गते नै नहुन सक्छ मंसिर ५ गतेभित्र निर्वाचन हुनेगरी मिति तय हुन्छ भन्ने शुरुमा जबाफ दिएका थिए ।
बालुवाटारमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग टोलीले मंसिर २ गते एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, प्रधानमन्त्री देउवाले भने आयोगले प्रस्ताव गरेको भन्दा दुई दिन ढिलो अर्थात मंसिर ४ मा चुनाव गर्नेगरी तयारी गर्न निर्देशन दिएको स्रोतले बतायो ।
प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेको २ मंसिर नै चुनाव गर्न किन राजी नभएर ५ भित्र भन्ने जवाफ दिए भन्ने कौतुहलता छाएको छ । उचित मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले समेत शुभसाइत खोज्दै ज्योतिषीसँग परामर्श गरेको विवरणहरू सार्वजनिक भएका छन्। कतै सोही अनुसार ज्योतिषीको परामर्शका कारण उनले २ दिन ढिला गरी मिति तय गरेका होइनन् ?
अन्य देशमा निर्वाचन योजना, सञ्चालनदेखि व्यवस्थापनसम्मको जिम्मेवारी निर्वाचन आयोगले गर्छ । उसैले निर्वाचनको मिति तय गर्छ । सरकारले सहयोग गर्छ। नेपालमा ठिक उल्टो छ। नेपालमा सरकारले मिति तोक्छ, आयोगले अनि चाँजोपाँजो मिलाउाछ ।