काठमाडौं । अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिने भएका छन् ।
तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट कर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको आरोपमा मुछिएका अर्थमन्त्री शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने भएको छ ।
गत १४ जेठको मध्य राति अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको विषयमा धारणा राख्न तयारी गरिरहेको बेला एमालेले पनि कुनै पनि प्रस्टीकरण नसुन्ने भएको हो ।
‘बजेट जस्तो संवेदनशील विषयमा जसरी अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराउन भयो, त्यसले राष्ट्रको शिर निहुरिएको छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘राज्यको लागि अपराध गरेको दण्डनीय व्यक्तिको धारणा हामीले सुन्नु छैन, हामी सुन्दैनौं ।’
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले रोष्ट्रममा उभिएर धारणा राख्न खोजेको अहिलेसम्म जानकारी नदिएको जनाउँदै जबरजस्ती गर्न खोजिए प्रतिकार गर्ने पनि उनको चेतावनी छ ।
उनका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने तथा संसदीय छानबिनजस्ता भरपर्दो आश्वासन नदिएसम्म एमालेको विरोध जारी रहनेछ ।
यसैबीच प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।