पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार विज्ञप्ति जारी गरे । उनको विज्ञप्तिलाई धेरैले अघिल्लो विज्ञप्तिहरुभन्दा कडा रहेको प्रतिक्रिया दिए । पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी भएको विज्ञप्तिमा त्यस्तो कुनै नौलो कुरा छैन, जुन आम नेपालीले दैनिक नसुनेको होस् । शाहले हिमाल पहाड र तराइबीचको सद्भाव खल्बलिएको उल्लेख गरेका छन् । यस्तो धारणा दलका नेताहरुले पनि भन्दै आएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले अर्को विषय पनि उल्लेख गरे । उनले नेपालमा बाह्य हस्तक्षेप बढेको बताएका छन् । यो विषय पनि असत्य होइन । यदि असत्य हो भने नेपालका राजनीतिक दलहरु सबै असत्य हुन् । उनीहरुका नेता पनि असत्य हुन् । उनीहरुले भ्रम मात्रै फैल्याइरहेको विश्वास गर्दा हुन्छ । किनभने दलका नेताहरु हाकाहाकी भनिरहेका छन्, नेपालमा बाह्य हस्तक्षेप चरम रुपमा बढेको छ । अरु त अरु अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै भारतले गठन गरिदिएको एमालेका नेताहरु दाबी गर्छन् ।
पूर्वराजाको विज्ञप्तिपछि क्याविनेट बैठकमा दरबार हत्याकाण्डको प्रतिवेदन खोज्ने चुनौती दिइएको छ । त्यस्तै गरी विमलेन्द्र निधिले पूर्वराजालाई चीनले कुन हैसियतमा बोलाउँछ भनेर आलोचना गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बुधबार नै पूर्वराजाको विज्ञप्तिलाई लक्ष्यित गरी लगातार तीन वटा ट्विट गरे । उनका ट्विट यस्ता छन्
‘इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्कीदिने छुट कतै दिएको देखिन्न । ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म ?’
भट्टराइको यो भनाइमा उनलाई पुग्ने गरी फलोअरहरुले जवाफ फर्काएका छन् । भट्टराईलाई जवाफ फर्काउने अधिकांश पूर्वराजाको अभिव्यक्तिमा कुनै आक्रोश छैन । धेरैको आशय छ कि
–‘तिमीहरुले जे मन लाग्यो त्यो गर्न मिल्ने, बोल्न मिल्न तर पूर्वराजाले किन नपाउने ?’
संयोजक भट्टराईको अर्को ट्विट छ–
‘बाह्य शक्तिकेन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ । शाहवंशले मात्र नेपाल आर्जेको, अरू गोरखाली सुतेको हो त ?’
यो ट्विटमा पनि संयोजक भट्टराईले आलोचना नै खेपेका छन् । भट्टराईलाई धेरैले सोधेका छन्, – पूर्वराजाको शक्ति केन्द्रको कुरा गर्ने ? तपाईको शक्तिकेन्द्र कता हो भन्ने दुनियाँलाई थाहा छैन र ?
वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि नेपाली राजनीति ध्रुवीकृत भएको छ । सरकारले गरेको प्रस्तावलाई असन्तुष्ट मधेसी मोर्चाले अस्वीकार गर्यो । प्रतिपक्षी दलहरु त आन्दोलनमा छन् ।
नेपालको संविधान संशोधन गर्ने वा नगर्ने वा के गर्ने भन्ने विषय नितान्त नेपालको आन्तरिक मामिला हो । तर नेपालमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि भारतले स्वागत गर्यो । यो बाह्य हस्तक्षेप वा नेपालको राजनीतिमा भारतको अनावश्यक चासो स्पष्ट देखिएको छ । भट्टराईले यो विषयमा कहिले मुख खोलेनन् । तर उनी यति बेला पूर्वराजाविरुद्ध आक्रामक बनेका छन् ।
संयोजक भट्टराईको अर्को ट्विट छ– ‘पश्चगामी ध्येयकासाथ आज आएको पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति पहिलेभन्दा गम्भीर छ ! सबै अग्रगामी शक्तिहरूले प्रतिवाद गर्नै पर्छ ! सतर्क बन्नैपर्छ !’
भट्टराईको धारणामा सहमति जनाउने भन्दा विमति राख्नेहरु धेरै भए । गणतान्त्रिक आन्दोलनमा टाउको फुटाएकी एमाले नेतृ रामकुमार झाँक्रीले भनेकी छिन्, –रंजित रेको राज चलेको बेला पूर्वराजाले दिएको प्रतिक्रियालाई उचाल्नु र उचालिनु पर्ने छैन । उनी एक नागरिक हुन् नागरिकको रुपमा बोल्न पाउँछन् । सविधानले कुनै स्पष्ट दिएको राजा भएको भए उनले बोल्ने कुरा अस्वाभाविक हुन्थ्यो । रंजित रेको डिजाइनमा राजनीतिको नाममा नौटंक गर्नेहरुको कोकोहोलो लज्जास्पद हो ।’
यसरी खुलेआम नेताहरुले नै नेपालमा बाहिरी हस्तक्षेप भएको उल्लेख गरिरहेका छन् । यो कुरा पूर्वराजा ज्ञानेन्द्रले मात्रै भनेका भने होइनन् ।
पूर्वराजाको विज्ञप्तिलाई आम मानिसहरु गलत नबुझ्नुको अर्थ नेपालका राजनीतिक दल, शासन शैलीमा जनताको आकर्षण छैन भन्ने हो । दलहरुमा जनताको आकर्षण किन भएन भन्ने खोज्नु भन्दा पनि डाक्टर बाबुराम भट्टराईसमेतले पूर्वराजा ज्ञानेन्द्रलाई खतरनाक व्यक्तिका रुपमा चित्रण गर्न पुगे ।
नेपाली राजनीतिमा व्याप्त भाँडभैलो, कलहले मुलुक नै नरहने पो हो कि भन्ने सन्त्रास व्याप्त छ । राजनीतिक दलहरुले जनताको भावना बुझ्न सकेका छैनन् । ९ –९ महिनामा सरकार ढाल्ने र बनाउने खेलका कारण जनता आजित छन् । यस्ता क्रियाकलाप जनताले होइन राजनीतिक दलहरुले गरिरहेका छन् । जनतालाई राजनीतिक स्थायीत्व मन पर्छ भन्ने दलहरुले बुझेका छन् । तर पनि उनीहरु सत्ता लिप्साका कारण सरकार ढाल्न पछि पर्दैनन । जनताले नेताहरुको आलोचना गरिरहेका छन् । राजनीतिक अस्थिरता दलहरुकै कारणले उत्पन्न भएको हो । यसमा राजनीतिक दल र नेताहरु नै दोषी हुन भन्दा पनि फरक पर्दैन । जसलाई दोष लगाइन्छ, अर्थात नेताहरुलाई पनि जनताको आलोचनाले फरक पार्दैन ।
पूर्वराजाको विज्ञप्तिलाई धेरै नेताहरुले स्वाभाविक रुपमा लिएका छन् । तर हिन्दु राष्ट्रको पक्षधर, राजावादी दल र संस्थाहरुका लागि भने विज्ञप्तिले खुसीयालीको बहार ल्याइदिएको छ । राजनीतिक भाँडभैलोले देश नै रहला कि नरहला भन्ने सन्त्रासका बीच पूर्वराजाको विज्ञप्तिलाई स्वभाविक रुपमा लिनु पर्ने धारणा धेरैले राखेका छन् ।
राजासहितको हिन्दुराष्ट्रको पक्षमा वकालत गर्ने विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले त औपचारिक रुपमै पूर्वराजाको विज्ञप्तिलाई स्वागत गरेको छ ।
नेपालमा राजसंस्था पुनर्गठन होला नहोला यसै भन्न सकिन्न । किनभने नेपालको राजनीतिमा असम्भव लाग्ने धेरै परिवर्तनहरु हाम्रै युगमा भइसकेका छन् । राणाकाल, पञ्चायतकाल, राजासहितको प्रजातन्त्र हुँदै गणतन्त्रमा नेपाल प्रवेश गरेको छ । यी सबै व्यवस्था देखेका भोगेका कतिपय मानिसहरु अहिले पनि जीवीतै छन् । यसकारण नेपालमा फेरि राजसंस्था ब्यूँतिने आशामा बस्नेहरु पनि नभएका होइनन् ।
उनीहरु अहिले पनि पूर्वराजालाई श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार नै भनेर सम्बोधन गर्छन् । यो लोकतान्त्रिक युगको अधिकार राजावादीहरुले पनि गरिरहेका छन् । सरकारको विरोध शाहीकालमा पाइन्न थियो । तर अहिले लोकतन्त्रमा राजशाहीका पक्षधरहरुले यस्तो अधिकार उपभोग गरिरहेका छन् । कतिपय युवाहरु अहिले संविधान कार्यान्वयन गर्ने नाममा देश नै सिध्याउन खेल भइरहेको दावी गरिरहेका छन् ।
पूर्वराजाले भनेजस्तै नेपालमा विदेशी हस्तक्षेप बढेको महशुस धेरैले गरेका छन् । यो महशुसकै कारण मानिसहरुमा यो देश रहला कि नरहला भन्ने सोच आएको बुझ्न सकिन्छ । कुनै बेला पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाल भूटानीकरण हुँदै सिक्किमीकरणतर्फ जान लागेको अभिव्यक्ति दिने गर्थे । राजनीतिमा नेताहरुले जस्तो बोल्छन्, भित्री रुपमा त्यस्तो गर्दैनन भन्ने पछिल्ला घटनाक्रमले देखाएको छ । अहिले संयोजक भट्टराई त्यस्तो धारणा पटक्कै राख्दैनन् ।
तर जनताको मनमा सिक्कीमीकरणको त्रास अझै छ । नेपालमा पनि मुलुकमा लेन्डुपहरु छन् भन्नेमा धेरै मानिसहरु विश्वस्त छन् ।
एक पछि जनताले अर्को आशा राख्दै गए । तर ती आशा तुषारापात हुँदै गए । जनतालाई अहिले जे जस्तो महशुस भइरहेको छ त्यस्तै भावना पूर्वराजा ज्ञानेन्द्रमा पनि पाइएको दावी पनि गरिन्छ ।
अहिले मुलुक ससंक्रमणकालमै छ । संविधान कार्यान्वयन हुने हो वा होइन, निर्वाचन हुने हो वा होइन जस्ता प्रश्नहरु छन् । राजनीतिक दलहरु राष्ट्रको भन्दा पनि दलीय स्वार्थमा फसेका छन् । यो स्वार्थले मुलुकले धेरै दशक पीडा खेपिसक्यो । अझै कति पीडा खेप्नु पर्ने हो एकीन छैन ।