धनगढी । कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गर्दै कार लगेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार बिहान उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । ‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार कञ्चनपुरबाट डडेल्धुरा जाँदै थिए । बाटोमा तीन जना भारतीय नागरिकले उनलाई लिफ्ट मागे । कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडासम्म जानेभन्दै लिफ्ट मागेका भारतीय नागरिकले कारमा तेल भरिदिने आश्वासन दिएपछि भण्डारी लोभिए । उनले ती भारतीय नागरिकलाई लिफ्ट दिए ।
त्यसपछि उनीहरुको यात्रा सुरुभयो । बाटोमा रमाइलो गर्दै गोदावरी नदीमा नुहाउँदै उनीहरुको कार पहाड तिर अघि बढ्यो ।
केही समय पछि तेल भरिदिने आश्वासन दिएका भारतीय नागरिकले उल्टै भण्डारीको कार लगेर फरार भए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार तीन जना भारतीय नागरिकले बाटोमै कारसहित भण्डारीको पैसा लुट्ने योजना बनाएका रहेछन् ।
सरकारी कर्मचारीसमेत रहेका भण्डारीलाई कुटपिट गरेर उनीसँग भएको पैसासहित कार लगेर फरार भए । कुटपिटमा संलग्न भारतीय नागरिकसँग पैसा नभएको र उनीहरूले खर्च निकाल्ने योजना सहित बाटोमै लुटपाटको योजना बनाएका रहेछन् ।
लुटपाट गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । तीनै जना सोमबार दिउँसो गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।
उनीहरूले लुटेको ५ हजार मध्ये ४ हजार ८ सय नगदसमेत बरामद गरिएको जोशीले बताए । लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक बेवारिसे अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार कारको डिजिटल डिस्प्ले फुटाइएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घरटाको विस्तृत कारण भने अझै खुलेको छैन, तीनै जनामाथि सोधपुछ भइरहेको छ ।’
पीडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरेसम्म जान लिफ्ट मागेका थिए । तर, कैलालीको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुट पिट गरी रुखमा बाँधेर कारसहित फरार भएका थिए ।