सर्लाही । उद्योग वाणिज्य संघ लालबन्दीले ८औँ वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न गरेको छ ।
उद्योग वाणिज्य संघ लालवन्दीका अध्यक्ष कल्याण कुमार जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष दिनेश श्रेष्ठ महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपालमा कृषिको सम्भावना अधिक रहेको बताउँदै कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले स्थानीय तहका पालिका कार्यकारी रहेको बताउँदै कृषि उत्पादनलाई उचित र उत्पादन मुखी बनाउने कानुन बनाउन आग्रह गरे । सम्भाव्य कृषि उत्पादनका विषयमा के–कसरी अघि बढ्दा उपलब्धि मुलक हुन्छ भनेर स्थानीय पालिकाले योजना बनाउने र त्यसका लागि अन्य सम्पूर्ण सहयोग आफूहरुको रहने प्रतिवद्धता व्यक्त गरे ।
सुमार्गीले नेपालमा कृषि उद्योगको विषयमा विभिन्न क्षेत्रबाट चासो बढ्दै गएको बताउँदै स्थानीय माटो वा स्थानीय परिवेश अनुसारको उद्योग खोल्नुपर्नेमा जोड दिए ।
स्थानीय उत्पादनलाई ध्यान दिन अनुरोध गर्दै सुमार्गीले स्थानीय पालिकाले कर्म गर्नु पर्ने र त्यसमा पूलको काम आफूहरुले गर्ने बताए ।
उद्योग वाणिज्य संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै सभापति सुमार्गीले सम्मृद्ध नेपाल, सुखी नेपालीको नारा कृषिमा क्रान्ति गरेर उत्पादनलाई बढवा दिएर मात्रै सम्भव हुने बताए । उनले भने, ‘सम्मृद्ध नेपालको सपना पुरा गर्न कृषिमा केन्द्रित हुनपर्छ, यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प छैन।’
सभापति सुमार्गीले असार १४ र १५ गते लाहान र जनकपुरमा रहने बताउँदै कृषि उद्यम केन्द्रले कृषिको उत्पादन तथा बजारीकरणमा सहजिकरण गर्ने विश्वास दिलाए ।