काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका चारसहित १० जना सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र पेस गरेका छन् ।
उनीहरुले पत्रमार्फत अध्यक्ष नेपाललाई तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाएका छन् । उत्त माग पत्रमा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुको पनि हस्ताक्षर छ ।
उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको आरोप पनि लगाउँदै बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने पत्रमा उल्लेख छ ।
पूर्वजानकारी पाउँदा स्वभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई दिलाइको विश्वासमा ठेस पुर्याउने र पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको आरोप पत्रमार्फत लगाइएको छ । ुयस्तो व्यवहार कदापी ठीक मान्न सकिँदैनु, पत्रमा लेखिएको छ ।
मन्त्रीहरूले संसदमा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि सरकार छाड्ने भन्ने प्रतिबद्धतालाई कमजोरी ठानिएको भन्दै पत्रमा अगाडि लेखिएको छ, ‘यो व्यवहारप्रति हामी गम्भीर छौँ ।’
उनीहरुले प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित भएकोप्रति असहमत जाहेर गरेका छन् । साथै उनीहरुले मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न सुझाएका छन् । पत्र मार्फत यी र यस्ता तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन उनीहरुको माग छ ।

