काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धि सम्बन्धमा सदनलाई जानकारी दिने क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू गैरजिम्मेवार ढंगले प्रस्तुत भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य काबुबाहिरको अवस्था रहेको बताएका थिए ।
इन्धनको मूल्य भारी वृद्धि हुँदा निमुखा जनताले आफ्नो चुलो बाल्न सक्ने स्थिति नरहेको बेला उद्योगमन्त्री नालायक र गैरजिम्मेवार ढंगले प्रस्तुत भएको टिप्पणी गर्दै सांसद लामाले भनिन्, ‘उद्योग मन्त्रीज्यू अत्यन्तै नालायक र गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुभयो । निमुखा जनताले आफ्नो चुलो बाल्न सकेको स्थिति छैन । चारैतिर हाहाकार र संकटको स्थिति आइसकेको छ । यो बेला यसरी प्रस्तुत हुनु भनेको संसद्प्रति व्यंग्य हो ।’
यसैगरी एमालेका सांसद भीम रावलले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषय कहाँ पुग्यो ? भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
मंगलबारको बैठकमा पेट्रोलियम पदार्थको अन्वेषण दैलेखमा गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको योजनाबारे प्रश्न गर्दै भने, ‘इन्धनको चर्को मूल्यप्रति संवेदनशील भएर दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण र अन्तर्राष्ट्रियस्तरको सस्तो बजारबाट इन्धन लिनेतर्फ के गर्दै हुनुहुन्छ ? ठूला व्यापारीहरूलाई इन्धनमा छुट दिने निर्णय रद्द गर्न सरकारसँग माग गर्दछु ।’
यसैगरी सरकारलाई सांसदहरूले पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् ।
एमालेका सांसद योगेश भट्टराईले चीन लगायतका देशले रुस-युक्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै भने, ‘अन्य कतिपय देशरूले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोजेको पाएको छ । हामी पनि सस्तो बजार किन खोज्दैनौँ ?’
सांसद भट्टराईले पेट्रोलियम पदार्थमा अतिरिक्त राजस्व घटाउन सरकारसँग माग गरे ।
भट्टराईले पेट्रोलियम पदार्थमा अतिरिक्त राजस्व घटाउने सरकारको योजना के छ ? भन्ने प्रश्न गर्दै भने, ‘पूर्वाधार शुल्क भनेर जसरी प्रतिलिटर १० रुपैयाँ लिइँदैछ । यसमा समायोजन गर्ने के छ तयारी ? हामी सस्तो बजार खोज्न नजाने ? एकाधिकार बजारमा मात्रै किन गएका छौँ ?’
सांसद नवराज सिलवालले मूल्यवृद्धि घटाउने सरकारको योजना के छ ? भन्दै प्रश्न गरे।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताउँदै भने, ‘भारतमा भरपर्दा नेपालमा समस्या भएको हो ।’