काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र अधिकारीबीचको अडियो वार्तालाप सार्वजनिक भएको थियो । सार्वजनिक भएको अडियोमा मन्त्री आले अधिकारीमाथि अश्लिल गाली गर्दै हातपातमै उत्रिएका थिए ।
यस भन्दा अघि पनि मन्त्री आलेले फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लील शब्द प्रयोग गरी ठेगान लगाउनेसम्मको धम्की दिएका थिए ।
केहीदिन अघि सार्वजनिक भएकाे अडियाेमा मन्त्री आलेले निगमका अध्यक्ष अधिकारीलाई अनेकौं अश्लिल शब्द प्रयोग गरि गालीगलौज गरेको प्रष्ट सुन्न सकिन्छ । मन्त्री आलेले प्रयोग गरेको शब्दको स्तर हेर्दा मन्त्रीलाई शोभनीय हुने खालको पटक्कै देखिँदैन। तर, मन्त्रीकाे अश्लिल गालीखाने उनै अधिकारीमाथि मन्त्रिपरिषदले कारवाहीको डण्डा चलाउँदै निलम्बन गरेको छ । यसबाट ‘धान खाने मुसो चोट पाउने भ्यागुत्तो’ भन्ने उखान चरितार्थ भएको देखिन्छ ।
कहिले सिलिण्डरमा आफ्नो तस्वीर राखेर होस् या कहिले सार्वजनिक रुपमा उग्रप्रकारको भाषणबाजी गरेर होस प्रेम आले चर्चामा आइरहने मन्त्रीमा पर्दछन् ।
गत असार ३ गते नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई अश्लिल शब्द प्रयोग गरि गालीगलौज गरेपछि विवादमा तानिएका मन्त्री आलेविरुद्ध आइतबार संसद् सचिवालयमा उजुरी समेत परेको छ ।