बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनसेलको ‘एकमा दुई’ अफर प्रतिमिनेट २५ पैसामा कल गर्न सकिने

सोमबार, मंसिर २७ २०७३

काठमाडौं, 
एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई’ अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्नसक्ने कम्पनीले जनाएको छ । 

योजनाअन्तर्गत हालकै मूल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाइस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, ११ मा ११ मिनेट टकटाइम(कुरा गर्ने समय) भएको  दैनिक ‘भ्वाइस प्याक’को खरिदमा अब ग्राहकले २२ मिनेट ‘टकटाइम’ प्राप्त गर्नेछन्, जुन २४ घण्टाको लागि मान्य हुनेछ ।  साप्ताहिक भ्वाइस प्याकमा ग्राहकले ६० मा सात दिनको समयसीमा भएको १४० मिनेट ‘टकटाइम’ पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेका छन् । त्यसैगरी, मासिक भ्वाइस प्याकमा अब ग्राहकले २०० रुपैयाँमा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक ‘भ्वाइस प्याक’ खरिद गर्दा २५ पैसा प्रतिमिनेटसम्ममा कल गर्नसक्नेछन् । भ्वाइस प्याकका मूल्यहरु करसहितका हुन् । ग्राहकले आफ्नो ‘भ्वाइस’ सेवाको आवश्यकताअनुसार युएसएसडी, आईभीआर, एसएमएसलगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरी ‘एकमा दुई’ अफरको लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाइस प्याकका लागि १, साप्ताहिक भ्वाइस प्याकका लागि २ र मासिक भ्वाइस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्नसक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरी आफूलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् । 
त्यसैगरी, एसएमएसमार्फत भ्वाइस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाइस प्याकका लागि ११, साप्ताहिक भ्वाइस प्याकका लागि ६० र मासिक भ्वाइस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्नसक्नेछन् । ‘‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मूल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौँ । सुलभदरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप यो अफर ल्याइएको छ’, एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने । ‘एकमा दुई’ अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाइस प्याकको समयावधि सकिएपछि वा टकटाइम सकिएपछि ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान शुल्क  २.५०  रुपैयाँ (करसहित) प्रतिमिनेट लाग्ने कम्पनीले जानकारी दिएको छ ।