नयाँ दिल्ली, । भारतको टामिन नाडुकी मुख्यमन्त्री जे जयललिताको शोकमा भारतका ७७ जनाले आत्महत्या गरेका छन् । गएको सोमबार ७५ दिनसम्म उपचार गराइरहेकी जे जयललिताको निधन भएको थियो । टामिल नाडुको एआईएडीएमकेले उक्त राज्यभरमा ७७ जनाले आत्महत्या गरेको दाबी गरेको हो । जे जयललिता उक्त पार्टीको प्रमुखसमेत रहेकी थिइन् ।
टामिल नाडुको एआईएडीएमकेले अहिले आत्महत्या गरेका ७७ जनालाई तीन लाख भारतीय रुपैंयाबराबरको रकम राहतस्वरुप प्रदान गर्ने भएको छ । टामिल नाडुकी आमा मानिएकी जयललितालाई त्यहाँका मानिसहरुले अत्यन्तै श्रद्धा गर्ने गरेका थिए । गत सोमबार जयललिताको निधनभएपछि भारतमा आत्महत्याको प्रयास गर्ने केही मानिसहरुलाई र उनको सम्झनामा आफ्नो औंला काटेका एक व्यक्तिलाई पनि पार्टीले ५० हजार भारतीय रुपैंयाबराबरको रकम राहतस्वरुप प्रदान गर्ने बताइएको छ ।
यसैबीच भारतको केन्द्रीय अनुसन्धान ब्युरोले भने यो नतिजा ३० मात्रै रहेको र चार जनाले आत्महत्याको प्रयास गरेको विवरण सार्वजनिक गरेको छ । एआईएडीएमकेले सार्वजनिक गरेको विज्ञप्तिमा जय ललितालाई गएको सेप्टेम्बर महिनामा अस्पतालमा भर्ना गरिएको र आइतबार उनलाई हृदयघात भएको भने उल्लेख गरिएको छैन । यद्यपि एआईएडीएमकेले ७७ जनाले आत्महत्या गरेको नामसहितको विवरण सार्वजनिक गरेको हो । आत्महत्या गर्ने मानिसहरु प्रान्तको विभिन्न स्थानहरुबाट रहेको बताइएको छ ।
एआईएडीएमकेले अहिले आत्महत्या गरेका मानिसहरुप्रति गहिरो श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । उनीहरुलाई तीन लाख परिवार हितकर कोषबाट तीन लाख दिइने पनि घोषणा गरिएको छ । साथै आत्महत्याको प्रयास गर्ने मानिसहरुको लागि अस्पतालको खर्च पनि पार्टीले बेहोर्ने बताइएको छ । साथै प्रान्तको तिरुपुर क्षेत्रका एक मानिसले जयललिताको शोकमा आफ्ना औंला काटेका थिए, उनको उपचारको खर्चसमेत पार्टीले बेहोर्ने उल्लेख गरिएको छ । पार्टीले दुवैलाई ५० हजार भारु दिने घोषणासमेत गरेको हो । एजेन्सी