काठमाडौं । काठमाडौं महानगरपालिकामा २९ वटा वडाको मतगणना सकिँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १४९ भोट प्राप्त गरेर अग्रस्थानमा छन् ।
काठमाडौं महानगरपालिकामा बाँकी ३ वडा १४, १५ र १६ को मतगणना जारी छ ।
हालसम्म कुल एक लाख ८३ हजार ६७९ भोट गणना भइसकेको छ । जसमा बालेन साह पहिलो स्थानमा छन् । यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा छिन् । मेयरमा साहले ५९ हजार १४९ भोट प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ३७ हजार २१८ भोट ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले मेयरमा सर्वाधिक भोट ल्याउने स्वतन्त्र उम्मेदवार साहको भन्दा बढी भोट पाएकी छन् । उनले ६६ हजार ८७८ भोट प्राप्त गरेकी छिन् । बालेनले अहिलेसम्म ५९ हजार १४९ भोट ल्याएका छन् ।
उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ एमालेकी सुनिता भन्दा धेरैपछि छन् । उनले २३ हजार ३१ भोट मात्रै पाएका छन् ।
काठमाडौं महानगरमा एक लाख ९१ हजार १८६ भोट खसेको थियो। मतगणना आज दिउँसोसम्म सकिने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।