बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरतपुर मेयरको पहिलो निर्णय: अब सरकारी अस्पतालमा जन्मिने छोरीको निःशुल्क जीवन बीमा

बुधबार, जेष्ठ ११ २०७९

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।

भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क जीवन बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् । 

त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।

यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुँच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् । 
उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।