बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरतपुर महानगरको मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल विजयी

मंगलबार, जेष्ठ १० २०७९

भरतपुर । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए ।

रेनुले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । रेनुले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१  मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  छ ।

यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

रेनु विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् ।  विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मिएकी उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माईली छोरी हुन् ।

यस महानगरका २९  वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।