एजेन्सी – राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ ।
सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भयो । त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मानिसहरूले पूरै भवनलाई घेरा हालेका थिए। मानिसले घेरेको देखेर सांसदले आफैलाई गोली हानेका थिए, जसका कारण उनको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक पनि भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।
प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् ।