काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । उनलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाएका थिए ।
नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।
यसैगरी बारा कांग्रेस सभापतिमा राजेशराय यादव निर्वाचित भएका छन् । बाराको सभापति पदमा यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका छन् ।
प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भने ‘स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।’