काठमाडौँ l प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार भएको उक्त भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बिष्णु रिमाल र उपमहासचिव विष्णु पौडेल पनि सामेल भएका थिए ।
भेटका क्रममा देउवाले एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए । देउवाले यस्तो आग्रह गरेपछि अोलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताए ।
बिष्णु रिजालले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् । ‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो । उनले भने – ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ । ‘
संसदमा एमसीसी टेबल भएपछि देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता भएको हो । यस्तै एमसीसी संसदमा टेबुल गर्नुअघि पनि देउवा बालकोटमै पुगेर भेट गरेका थिए ।