काठमाडौं। नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा दोधारे नीति अपनाएको छ।
प्रतिनिधि सभामा एमसीसीको प्रस्ताव प्रस्तुत गर्न दिने र पक्षमा मतदान नगर्ने निर्णयको प्रस्ताव स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राखेका थिए। त्यहि निर्णय सदर भएपछि अब एमसीसी प्रस्ताव रोक्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असफल हुने भएका छन्।
गठबन्धनको एउटा प्रमुख घटकको निर्णयले उनलाई पनि एमसीसी टेबुल गराउनका लागि बाध्य त पारेको छ तर पक्षमा कि विपक्षमा मत हाल्ने भन्नेचाहिँ समस्या भएको छ।
प्रचण्ड गठबन्धनलाई मनाएर एमसीसी पारित गराउने प्रतिबद्धता पत्र एमसीसीलाई लिखत गर्ने मध्येका एक जना हुन्। उनलाई अब एमसीसीको पक्षमा मत हाल्नका लागि नैतिक दबाब परेको छ। तर माओवादी केन्द्रका नेताहरू भन्छन्,‘टेबुल भए पनि पारित हुँदैन।’