काठमाडौं। अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण सत्ता राजनीति फेरि नेकपा एमालेतिर मोडिएको छ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाहेकका दल एमसीसीको विपक्षमा उभिएपछि त्यसलाई सदनमा लैजाने र पारित गर्ने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अडानलाई एमालेले साथ दिए पूरा हुनेछ।
यसै अपेक्षासहित विहीबार साँझ प्रधानमन्त्री देउवा पत्नी आर्जु राणासहित प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेका थिए।
सत्ता गठबन्धनका अन्य दलले साथ नदिने अवस्थामा एमसीसी टेबुल भए एमालेको समर्थन प्रधानमन्त्रीले मागेका छन्। यसमा ओलीले कस्तो आश्वासन दिएका छन् भन्ने नखुले पनि कांग्रेसबाहेकका चार दलले एमाले एमसीसीको पक्षमा उभिने निचोड निकालेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
कांग्रेस र एमाले मिल्ने तयारीमा रहेको र एमसीसी जसरी पनि पारित गर्न तयार भएको चार दलको निष्कर्श रहेको पनि उच्च स्रोतको दाबी छ।