काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पेलेरै भए पनि सत्ता गठबन्धनले बुधबार अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गराउने तय भएको छ।
नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक राखी एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबारै नेपालस्थित अमेरिकी दूतावासले पनि एमसीसी पारित नगराए सम्बन्ध विग्रन सक्ने संकेतसहितको विज्ञप्ति जारी गरेको थियो।
प्रतिनिधि सभाको बैठकमा एमसीसी पेस गर्नका लागि कार्यव्यवस्था समितिको बैठक डाक्न प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नी सापकोटालाई टेलिफोन गरी दबाब दिएका थिए।
संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भोली एमसीसी सदनमा पेस हुने बताए। संसदीय दलको बैठकअघि सत्ता गठबन्धनमा रहेका देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बैठक भएको थियो।