बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सभामुख अग्नी सापकोटाविरूद्ध महाअभियोगको तयारी!

सोमबार, फाल्गुन २ २०७८

काठमाडौं। सभामुख अग्नी सापकोटाविरूद्ध महाअभियोग ल्याउनेसम्मको तयारीसाथ नेकपा एमाले संसदीय दलको बैठक बस्न लागेको छ।

सत्ता गठबन्धनले अस्थिरता निम्त्याउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि हठात् महाअभियोग ल्याएको र पेसीमा चढेका मुद्दा सुनुवाई प्रभावित बनाउने षडयन्त्र गरिएको भन्दै एमाले पनि प्रतिवादमा उत्रिन लागेको हो।

राणालाई महाअभियोग लगाउँदै आइतबार सुनुवाईका लागि पेसीमा चढेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाविरूद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको मुद्दा स्थगित गरिएको थियो।

‘एमालेविरूद्ध घेराबन्दी गर्न, चुनाव प्रभावित बनाउनका लागि सत्ता गठबन्धनले जुन हर्कत गरेको छ, त्यसको प्रतिवाद गर्नुपर्ने देखियो’, एक नेता भन्छन्,‘संसदीय दलको बैठकले पनि खास निर्णय गर्ने तयारी छ।’

आइतबार साँझ संसदीय दलमा कस्ता एजेन्डा तयारी गर्ने भन्ने विषयमा एमाले सचिवालयको बैठक भएको थियो। बालुवाटारमा भएको बैठकले एजेन्डा तय गरेको र सोमबार हुने संसदीय दलले खास निर्णय लिने बताइएको छ।

उता एमाले जनवर्गीय संगठन पनि आन्दोलनको तयारीमा छ। सत्ता गठबन्धनको षडयन्त्रविरूद्ध राष्ट्रिय युवा संघले मंगलबारलाई विरोध सभाको आयोजना गरेको छ।