बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आयातमा भएको बृद्धिसँगै मुलुक फेरी सोधनान्तर घाटामा, बिदेशी बिनिमय सञ्चिति पनि घट्यो

शुक्रबार, असोज ८ २०७८

काठमाडौँ । आयात चुलिदै गएपछि देशमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम ह्वात्तै बढेको छ । यसरी बाहिरिने रकम बढेसँगै मुलुकको सोधनान्तर स्थिती ३८ अर्ब ७५ करोडले घाटामा गएको छ । जबकी गत वर्षको असारमा  सोधनान्तर स्थिती २ खर्ब ८२ अर्बले बचतमा रहेको थियो ।

गत  साउन महिनामा मात्रै आयात १ खर्ब ५० अर्ब ७३ करोडको आयात भएको छ। गत वर्षको तुलनामा यस्तो आयात ७५.७ प्रतिशतले वृद्धि भएको हो ।  जबकी अघिल्लो वर्षको साउन मसान्तमा आयात १९.६ प्रतिशतले घटेको थियो । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेटको आयात  उच्च मात्रामा बढेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

तर मुलुकमा पैसा भित्रिने विप्रेषण आप्रवाहमा भने १८.१ प्रतिशतले कमी आएको छ। घट्दो रेमिट्यान्स र बढ्दो आयातका कारण सोधनान्तर स्थिती घाटामा गएको हो ।

त्यस्तै मुलुकमा रकम भित्राउने निर्यातमा पनि खासै बृद्धि हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात १ सय १५.९ प्रतिशत ले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।

देशबाट बाहिरिने रकम बढेसँगै यसको सिधा असर मुलुकको बिदेशी विनिमय सञ्चितीमा परेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई यो साउनमा १३ खर्ब ५३ अर्ब कायम भएको छ ।

अर्थात यस्तो बिदेशी बिनिमय सञ्चितिले गत असारमा १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्नेमा अबको सञ्चितीले जम्मा ८.३ महिनाको मात्रै आयात धान्नेछ ।