बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेठ १५ मै बजेट आउँदा पनि सुध्रिएन खर्च प्रणाली, काम सुरु चैतमै !

सोमबार, असोज ४ २०७८

काठमाडौँ । साउन महिनामा बजेट ल्याउदा बिकासका लागि भनेर सरकारले छुट्टाएको रकम नै खर्च हुन नसकेको भन्दै २०७२ सालमा बनेको नयाँ संबिधानमा जेठ १५ मै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरियो । तर, बजेट  जेठ १५ मै सार्वजनिक भएपनि बिकासका काम भने चैत महिनायताबाट मात्रै सुरुवात गर्ने प्रवृतिमा भने खासै सुधार नै हुन सकेको छैन ।

नयाँ संबिधान जारी हुनुअघि २०७२ साल असार २९ गते  तत्कालिन अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७२÷०७३ का लागि ८ खर्ब १९ अर्बको बजेट सार्वजनिक गरे ।  जसमा २ खर्ब ८ अर्ब बिकास निर्माणका लागि छुट्टाइयो । तर, वर्षको अन्त्यमा जम्मा १ खर्ब २३ अर्ब अर्थात बिकासका लागि भनेर छुट्टाइएको बजेटको ६१ प्रतिशत मात्रै खर्च भयो ।

यसपछि यहि आर्थिक वर्षको असोज ३ गते नयाँ संविधान जारी गरियो  । र संबिधानमा यसपछिका दिनहरुमा जेठ १५ मै बजेट सार्वजनिक गर्ने व्यवस्था गरियो । सोहि अनुरुप नै २०७३ सालमा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले जेठ १५ मै  १० खर्ब ४८ अर्बको बजेट सार्वजनिक गरे । बिकास निर्माणका लागि ३ खर्ब ११ अर्ब छुट्टाएपनि  खर्च भने २ खर्ब ८ अर्ब अर्थात ६६ प्रतिशत मात्रै भयो ।

त्यसैगरि २०७४ सालमा तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्बको बजेटमा ३ खर्ब ३५ अर्ब बिकास निर्माणका लागि छुट्टाए । र त्यो वर्ष २ खर्ब ७० अर्ब अर्थात  ८० प्रतिशत खर्च भयो । जुन संबिधान जारी भएपछि उच्च मात्रामा बजेट खर्च भएको वर्ष हो ।  

यसपछि २०७५ मा युवराज खतिवडा अर्थमन्त्री भए जसले १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गर्दै बिकासका लागि ३ खर्ब १३ अर्ब छुट्टाए । वर्षको अन्त्यमा भने २ खर्ब ४१ अर्ब अर्थात ७६ प्रतिशत मात्रै खर्च भयो । उनले नै २०७६ जेठमा  बिकासका लागि ४ खर्ब ८ अर्ब छुट्टाएकामा १ खर्ब ८९ अर्ब  अर्थात जम्मा  ४६ मात्रै खर्च भयो  ।

 गत वर्ष ३ खर्ब ५२ अर्ब बिकासका लागि छुट्टाएको रकम मध्ये जम्मा ६४ प्रतिशत मात्रै खर्च भयो । अर्थात  समयमै खर्च गर्नका लागि भनेर जेठ १५ मै बजेट ल्याउने व्यवस्था गरिएपनि खर्च गर्ने प्रवृतिमा भने सुधार आउन सकेको छैन ।

कामको प्रक्रियागत सुधारका आधारमा हेर्ने हो भने जेठ १५ मा बजेट आउनु र साउनमा आउनुले खासै फरक पारेको देखिदैन । जेठ १५ मै बजेट आएपनि मंसिरमा मात्रै धेरैल बोलपत्र आह्वान गर्ने गरेका छन् ।

त्यसपछि ठेकदारसँग माघमै सम्झौता भएपनि चैत सम्म ठेकेदारहरुले कामै सुरु गरेका हुँदैनन् । र, काम  गरेको नगरेको बारेमा सरकारले अनुगमन पनि गरेको हुँदैन । आगामी वर्षमा   निर्माण गरिने आयोजनाको अघिल्लो  वर्षमा नै कागजि काम सबै सकेर मंसिरदेखि नै निर्माणको काम सुरु नगराउँदासम्म देशमा बिकास खर्चमा खास प्रगति हुने देखिदैन । 

काम नगर्ने ठेकेदार, र आयोजनाको अनुगमन गर्नुपर्ने कर्मचारी र कर्मचारीकै अनुगमन गर्नुपर्ने  राजनीतिक नेर्तत्व सबैले आफ्नो दायित्वबोध गर्न नसक्दा मुलुकमा बिकास तिब्रदरमा बिकास हुन सकेको छैन  ।