काठमाडौं । रोजगारीका लागि इजरायल जाने श्रमिकका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। हिजो दिउँसो लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका हुन् ।
उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाको अब फिटनेस टेष्ट हुने छ । उम्मेद्वारको उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तापछि इजरायल जानेको अन्तिम नामावली सार्वजनिक हुने छ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १ दशमलव ५ मिटर हुनुपर्नेछ।
अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ।
दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ।
इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्।
इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने यसअघि नै सम्झौता भएको छ। इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। उनीहरुको तलब एक लाख ८६ हजार रुपैयाँ हुने बताईएको छ ।