प्रधान सेनापति पूर्णचन्द्र थापाले २०७८ जेठ २३ गते सैनिक जङ्गी अड्डामा भव्य कार्यक्रमको आयोजना गरेर आफ्नो कार्यकाललाई “सुनौला हजार दिन” को रुपमा मनाए । थापाले तामझाम र झकिझकाउपूर्वक आयाेजना गरेको उक्त ‘ग्लामरस सो’ ले दुईटा पक्षलाई ईङ्गित गर्छ ।
पहिलो, प्रधान सेनापति लोकप्रियताप्रति अति आशक्त छन् भन्ने जनाउ दिन्छ । दोस्रो, आफ्नो अवकाशपछि अरुबाट आफ्नो कामको उच्च मूल्याङ्कन हुँदैन भन्ने कुरा उनले राम्ररी बुझेकाे हुनुपर्छ । यदि यी दुई कारण नहुँदो हो त सुगन्धित फूलको वास्नाझैं राम्रो कामको प्रचार र मूल्याङ्कन त भविष्यले गरिनै हाल्थ्यो आफैंले यति हतारो गर्नु पर्ने आवश्यक थियाे र ?
यो पछिल्लो कार्यक्रम कुनै अपवाद भने थिएन । वास्तवमा उनको कार्यकालमा भएगरेका कामहरुको उद्देश्य खोतल्दै जाँदा हरेक कदम आफू लोकप्रिय हुने अभिलाषाबाट अभिप्रेरित छन् भन्ने कुरा प्रष्टै हुन्छ । यही लोकप्रियताको पछि लाग्दा आफूलाई राज्यले दिएको मूल जिम्मेवारी भन्दा पनि आफू कसरी ‘हाईलाईट’ होईन्छ भन्ने कुरामा ध्यान गएको जस्ताे महसुस हुन्छ ।
चाहे त्यो “सिपाहीसंग प्रधान सेनापति” कार्यक्रम होस् वा “त्रैमासिक रोलकाल” वा “नेतृत्व संवाद” वा बेलाबेलाम गरिने “पत्रकार सम्मेलन” यी र यस्ता सबै कार्यक्रमहरुको बाहिरी उद्देश्य जे भनिए पनि संचालनका मुख्य ध्येय भने आत्ममुग्धता नै हो भन्दा हुन्छ ।
उनले भारतले कालापानी र लिपुलेकमा अतिक्रमण गरेकाे कुरा छताछुल्ल हुँदा मूकदर्शक बनेर बसेकाे पाइयाे। लिपुलेकमा अतिक्रमण बारे एक शब्द चुइँक्क बोलेनन् । बरु उल्टै नेपाललाई अनर्गल आरोप लगाउने भारतीय प्रधान सेनापति नारभानेलाई स्वागत सत्कार गरी मानार्थ महारथीकाे सम्मान दिन शीतल निवास पुर्याए।
सामाजिक सञ्जालहरुमा उनलाई देशको हित नहेरेको आरोप लागेको छ । कतिले उनलाई मुलुकका लागि बोल्न नसक्ने प्रधानसेनापति पनि भनेका छन् । पछि भारतीय सेनापतिको भ्रमणका दौरान थापाले स्वागत सत्कार गरी रात्रिभोजमा भारतीय सेनापतिलाई ‘उचित जवाफ’ दिईएको भनी प्रचार गर्दा धेरैलाई संकोच लागेको थियो। सैनिक कूटनीतिको स्मोक स्क्रीन प्रयोग गर्दै उल्टै भारतीय प्रधान सेनापतिको खातिरदारी गर्न अग्रसर भई देशको सार्वभौमताको मुद्दालाई झनै कमजोर बनाउने कार्य भएको छ ।
पूर्णचन्द्र थापाकाे नेतृत्वमा सेनामा केही सुधारका कार्य भएका छन् । तर, गरिएका केही आन्तरिक सुधारका कामका जस पनि सबै आफैं लिन खोज्ने हाँडीघोप्टे प्रवृत्ति सेनापतिमा देखियाे भन्ने आराेप पनि उनकै टीमबाट लाग्ने गरेकाे छ ।
सेनामा भएका ठूला र चर्चित भ्रष्टाचार काण्ड ढाकछोप भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफन्तलाई कुनै कार्वाही गरेका छैनन् बरु ससम्मान सेनाबाट बाहिर जान दिएकाे आराेप पनि लागेकाे छ ।
जसलाई उनले ‘सेनाबाट जान बाध्य पारिएको’ भनी आफ्नो पक्षपाती प्रवृत्तिलाई उल्टै आफ्नो सफलता र महानतामा परिणत गर्न पछि नपरेकाे अर्काे आराेप छ। अर्कातिर, निमुखालाई नभएको कसुरमा समेत शंकाको भरमा कार्वाही गरेकाे आराेप पनि छ ।
उनका काम आफ्नै सस्तो लोकप्रियताको लागि हो भन्ने प्रमाण अनेकन् छन् । प्रधान सेनापति थापाले आफ्नो नाम राख्ने र पुर्खाको बिंडो धानेको देखाउनका लागि मात्रै सेनामा “तीन जोड एक” अवधारणा जबरजस्ती लागू गरे । फाष्ट ट्रयाकमा बलमिच्याईं गरेकाे आराेप छ । नागरिक सर्बोच्चताको दुहाई दिने तर जनप्रतिनिधिहरुको निर्देशनलाई सरकारसंग मिली धोती लगाउने काम गरेका छन् ।
उनले कतिजनालाई कार्वाही गरियो भन्ने अंकलाई आफ्नो सफलताको मापदण्ड बनाएका छन् । दोषी होस् नहोस् कार्वाही गरी दोषी करार गर्ने र आफू हिरो बन्ने । उनको “सुनौलो हजार दिन”को मुख्य उपलवब्धि नै सेनामा कति जनालाई कार्वाही गरियो भन्ने थियो ? यो कस्तो उपलवब्धि हो ?
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा जिरो मिस्टेक सिन्ड्रोमलाई बढावा दिएका छन् । व्यक्तिले गल्ती गर्दैन भन्ने ‘जिरो मिस्टेक सिन्ड्रोम’ बाट ग्रसित ग्रन्थीले अरुको आङ्गको जुम्रा देख्दा आफ्नो आङ्गको भैंसीचाहिं देख्न सकेको छैन । यदि प्रधानसेनापति पूर्णचन्द्र थापा आफूले बाहिर प्रचार गरिए झैं निश्पक्ष, नैतिकवान भए उनले किन उनका नातेदारका ठूला भ्रष्टाचारलाई लुकाए ?
अनि किन निरीह अधिकृतलाई सानो निहुँमा पनि निर्मम सजाय दिए ? यदि प्रधानसेनापति पूर्णचन्द्र थापा स्वच्छ चरित्रका हुन् भने नेपाली सेनाले भद्रकालीमा र लगनखेलमा संचालन गरेको पेट्रोल पम्पको करौंडौंको आम्दानी खर्चको यथार्थ हिसाबकिताब किन सार्वजनिक गर्दैनन् ?
प्रधानसेनापति पूर्णचन्द्र थापाले रिपुमर्दनी पेट्रोल पम्पहरुकाे संचालन र तिनका आम्दानी खर्च नियमसम्मत छन् भनेर सार्वजनिक गर्न सक्छन् ? के उनले ती पेट्रोल पम्पको आम्दानी स्वेच्छापूर्वक खर्च गर्न मिल्छ ? आफूले केही गल्ती चाहिं गरेको छु भन्ने महसुस भएपछि त्यसलाई सच्याउने प्रयत्न नगर्ने बरु त्यसलाई ढाकछोप वा पुष्ट्याई दिने प्रवृत्तिले आत्ममुग्धतालाई प्रष्ट्याउंछ ।
भारत, चीन, बेलायत वा अमेरिकामा सेनापतिले आफ्नो व्यक्तिगत सफलतालाई संचार माध्यममा बढाई चढाई गरेको समाचार आएको देखिंदैन । नेपालका प्रधान सेनापति पूर्णचन्द्र थापा भने तील जत्रो काम हुंदा पनि प्रचार प्रसारमानै मस्त देखिन्छन् । उनले आफ्नो कार्यकालको सुरुआत देखि नै मैले हिरो हुनका लागि काम गरेको होईन भनी बारम्बार भन्दै आएका थिए ।
सबैले सुरुसुरुमा होला पनि भनी पत्याए । तर, त्यो उनको मनभित्र लुकेर रहेको ‘हिरो’ हुने लालसा थियो जसलाई उनले बाहिर जतिसुकै नकारे पनि मनमा गढेर बसेको रहेछ भन्ने कुरा त उनका कृयाकलापहरुले देखाएका छन् ।
प्रधान सेनापति थापाका तीन बर्षे गतिविधिले उनले देश र जनताको लागि कुनै माखो नमारेको बरु आफूलाई लोकप्रिय देखाउननै समय व्यतित गरेकाले उनी सस्तो लोकप्रियताका पछि दगुर्ने सेनापतिकारुपमा इतिहासमा दर्ज हुने निश्चित् छ ।- राष्ट्रवादी नेपाली सेनाले साँघुन्यूज डटकमलाई लेखेको पत्र