काठमाडौं । भोलि तीन कम्पनीको साधारण सभा एक-साथ हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, जनरल इन्स्योरेन्स कम्पनी र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा सिटिस्क्वेर प्रा.लि न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने जानकारी गराएको छ । सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै उक्त साभाले यस लघुवित्तलाई इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, जनरल इन्स्योरेन्स कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय हात्तीसारमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने जसमा एक जना महिला अनिवार्य हुुनुपर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा केन्द्रिय कार्यालय गैडाकोटमा बिहान ९ बजे बोलाएको जानकारी गराएको हो । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर (१:०.९८) दिने गरी शेयरमूल्य अनुपात कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।