काठमाडौं । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित सीमा ईलाकाबाट जेठ २१ गते सशस्त्र प्रहरीले करीव १ लाख ४७ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पातोबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय राजविराजमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बेरीयाबाट खटिएको सशस्त्र प्रहरीले झापा जिल्लाको गौरीगन्ज गाउँपालिका ४ बेरीयास्थित सीमा ईलाकाबाट जेठ २० गते विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै निजले बोकेको झोला र उक्त साईकल सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा कोरेक्स १७ बोतल, नाईट्रोजिपाम ट्याब्लेट ४५ वटा र स्पास्मो ट्याब्लेट ८ वटा फेला पारिएको हो । बरामद लागूऔषध तथा साईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।