बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिपिन र सुदिपको गोलमा खालीबारीको विजयी सुरुवात

आइतबार, चैत्र १ २०७७

काठमाडौं । खालीबारी युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको उद्घाटन खेलमा झापा एफसीलाई २—१ गोल अन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुवात गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता उल्टाएर खालीबारीले जित निकालेको हो ।

खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक एक गोल गरे ।

झापाका सरोज दोर्जी कार्कीले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा सरोजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।

तर, ३४ औं मिनेटमा विपिनले गोल गर्दै खालीबारीलाई १—१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७२ औं मिनेटमा सुदिपले गोल गर्दै खालीबारीलाई २—१ को जित दिलाए ।

जितसँगै खालीबारीले पहिलो खेलमा ३ अंक जोडेको छ । झापाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।

प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।