काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो पुरस्कार दिएका छन्। नेकपामा विवाद आएपछि ओलीको पक्षमा उभिएर मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा हाल्ने बताएका बादलले एमालेमा उपाध्यक्षको पद पुरस्कार स्वरुप पाउने भएका हुन्।
ओलीलगायत एमालेका पदाधिकारीसँगको बैठकपछि बादललाई उपाध्यक्ष बामदेव गौतमपछिको वरियता पनि हुने भएको छ। एमालेमा यो वरियता पाँचौ हो।
पहिलो वरियतामा अध्यक्ष ओली, दोस्रोतमा बरिष्ठ नेता झलनाथ खनाल, तेस्रो माधवकुमार नेपाल, चौथोमा बामदेव गौतम छन्। भिम रावल भन्दा पनि उपल्लो दर्जा बादलले पाउने भएका हुन्।
उनी माओवादी केन्द्रमा रहँदा महासचिव थिए। एकीकरणपछि सचिवालयमा रहे पनि त्यसलाई सर्वोच्चले खारेज गर्दा फर्किने कि एमालेमा बस्ने भन्ने दुविधामा रहेका बादललगायतका अन्य नेता अब नफर्किने भएका छन्।
अन्यले पनि गोल्डेन उपहार पाएका छन्। लेखराज भट्टलाई एमालेको सुदूरपश्चिमको इञ्चार्ज दिइएको छ। यस्तै अन्य मन्त्री र नेतालाई स्थायी समितिमा राख्ने सहमति मात्र भएको छैन, एमालेका तल्ला कमिटीसम्म २० प्रतिशतको हिस्सेदारी दिने सहमति भएको छ।
टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापालगायतलाई स्थायी समितिमा राखिएको छ। प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेलसँग भएको छलफलका क्रममा बादललाई उपाध्यक्ष दिइएको हो।
यसैबीच माओवादी केन्द्रका कतिपय नेतालाई एमालेमा ल्याउने लविङ समेत सुरु भएको बताइएको छ। बादल समूहमा रहेका देव गुरुङ, पम्फा भुसाललगायतका नेता पनि एमाले प्रवेशका लागि तयार रहेको बताइएको छ।
ओलीले एकीकरण सम्भव नभएपछि माओवादी केन्द्रका प्रभावशाली नेतालाई भित्राएर प्रचण्डलाई कमजोर बनाउने रणनीति अपनाएका छन्। यो निर्णयलाई ओलीले केन्द्रीय समितिमा राखेर अनुमोदन गराउनेछन्।