काठमाडौं। कोरोना बिमा योजना लिएकाहरुले केहिले गलत तरिकाले दाबी गरेका छन् । एउटा कम्पनीबाट रकम भुक्तान पाइसकेपछि समेत अर्काे कम्पनीबाट दाबी गरेको पाइएको छ।
त्यसैले यस्ता गलत दाबी सँगै कोरोना पुष्टि भएका ४ सय ५५ वटा कोरोना बिमाका लागि अयोग्य भएको बिमा समितिले पाएको छ। बिमाको दाबी दोहोरो भुक्तान नहोस् भनेर बिमा कम्पनीहरुले पुल निर्माण गरेका छन् । अर्थात हरेक कम्पनीमा दाबी गरिएका बिमा योजनाहरु बिमा कम्पनीहरुले बनाएको पुलमा पठाइन्छ । जसका कारण नै कोहिकसैले दोहोरो दाबी गरेमा त्यसको भुक्तानी हुँदैन ।
बिमा समितिका अनुसार अहिलेसम्म करिब दाबी परेका मध्ये ५३ प्रतिशतको मात्रै भुक्तानी भएको छ । अर्थात ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन् । जसका लागि ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ ।
अहिलेसम्म ८० हजारभन्दा बढी बिमा दाबी परेको समिति बताउँछ । जसमध्ये ७७ हजार १ सय २८ वटा दाबीको मात्र कागजात पूरा भएको छ ।
भुक्तानी हुन बाँकी दाबीमध्ये ५ हजार ३ सय १३ वटा स्वीकृतिको प्रक्रियामा रहेका छन् । त्यसबाहेक ९ हजार ७ सय ३४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) बाट फिर्ता हुन बाँकी रहेका छन् ।
२ हजार ३ सय १९ वटा दाबी ईडीसीडी पठाउने तयारीमा रहेको समितिले जानकारी गराएको छ । ३ हजार ५ सय ७५ वटा दाबी भुक्तानीका लागि बिमा कम्पनीमा पठाइएको, १४ हजार ७ सय ७१ दाबी उपर छानबिन भइरहेको समिति बताउँछ ।
अहिलेसम्म १ लाख ५८ हजार ७७ हजार बिमा योजना मार्फत १७ लाख १६ हजार जनाले कोरोना बिमा गरेका छन् । । ती बिमायोजनाको बिक्रीमार्फत झन्डै १ अर्ब (९९ करोड ५ लाख) रुपैयाँ शुल्क संकलन भएको छ ।
सम्झौताअनुसार बिमा कम्पनी, नेपाल पुनर्बिमा र बिमा समितिले लिनुपर्ने दायित्वबापतको रकम पनि भुक्तानी भइसकेको छ । जसअनुसार हालसम्म बिमा कम्पनीहरूले १ अर्ब, पुनर्बिमाले १ अर्ब र बिमा समितिले १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
यता भुक्तानी हुन नसकेका बेलामा सरकारले भने कैयन दाबीमा प्रयोगशालाको नतिजा आउनु अघिनै दाबी परेको भन्दै प्रयोगशालामा भएका परिक्षणको तथ्यांक पठाउन भनेको छ । सोमबार एक पे्रस बिज्ञप्ती जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।
कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री सुरु गरिएको थियो । सुरुमा रकम कुम्ल्याउने उद्देश्यका साथ आएका कम्पनीहरु कोरोना संक्रमण बढेपछि भने चाहि अत्तालिएर योजना नै बन्द गर्न थालेका थिए । तर भदौ २८ यता बिमा समितिले पुरानो बिमालेख खारेज गरी नयाँ जारी गर्न निर्देशन दिएपछि फेरी सुरु भएको थियो ।
नयाँ बिमा लेखमा सामूहिक रूपमा प्रतिव्यक्ति १ लाख रुपैयाँको मात्र बिमा गर्न पाइन्छ । जसमा कोरोना संक्रमित भएको प्रमाणित भएपछि घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार र अस्पतालमा उपचार गराएको भए उपचार खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म भुक्तानी भुक्तानी गर्ने व्यवस्था छ । जबकी भदौभन्दा अघि बिक्री भएका योजनामा भने बिमितले कोरोना संक्रमण पुष्टि हुने बित्तिकै १ लाख रुपैयाँ भुक्तान पाउने व्यवस्था थियो ।