काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २ सय ७० ट्याब्लेट नाईट्राजेपाम सहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका १ बस्ने २२ वर्षीय प्रबेश पाख्रिनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ ज ३३१७ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रबेशलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका ५ शरणपुरस्थित सडकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश (पोल्याण्ड) जस्तो देखिने पदार्थ सहित काठमाडौं मनमैजु बस्ने मकवानपुर थाहा नगरपालिका ७ सलेभन्ज्याङ्ग घर भएका २८ वर्षीय सुर्य बिक्रम गोलेलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । बा.६० प ८४०४ नम्बरको मोटरसाइकलमा सवार गोलेलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको बीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाइट्राभेट र ७२ पीस क्ःब्एक्ह् सहित सोही महानगरपालिका ३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार मण्डललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनले लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।