बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ     

शुक्रबार, फाल्गुन ७ २०७७

चितवन, भरतपुर महानगरपालिका १० ज्ञानदर्शन चोक बस्ने ४० वर्षीय गोविन्द राउतलाई १ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राउतको युनिक मःम सेन्टर होटलमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरीयाबाट नियन्त्रित लागुऔषध १ सय एमएलको १ बोतल डाइलेक्स डिसी र ६० ट्याब्लेट नाइट्रोभेट सहित मिर्चैया नगरपालिका ८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ बाट करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका १ पलासे बस्ने २१ वर्षीय नबराज थिङ र २० वर्षीय बाबुराम थोकर रहेका छन् ।

ना.१ ह ७२३६ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा उक्त गाँजा फेला पारी चालक थिङ र अटोमा सवार थोकरलाई पक्राउ गरेको हो । मोरङको रतुवामाई नगरपालिका ४ आमबारीबाट १ सय ५८ पत्ता ट्रामाडोल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिक्लाजुङ्ग गाउँपालिका ७ बस्ने २१ वर्षीय पवन राई र मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने २१ वर्षीय प्रकाश थापा रहेका छन् । भारतबाट नेपालतर्फ आइरहेको को.४ प ९६ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक राई र मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो । 

महोत्तरीको एकडारा गाउँपालिका ६ स्थित झुलुङ्गे पुलबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी कटिकटैयाबाट खटिएको प्रहरीले ज.१० प ३९६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिब्र गतिमा आई मोटरसाइकल छाडेर फरार भएपछि मोटरसाइकल सहित उक्त गाँजा प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।   यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।