भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन्।
उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका दिनेश भट्टले भागरथीको हत्या गरेको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन्। किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेका उनको भनाई छ।
“घटना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएको हो। उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो। आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ। उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ। बाजे–बाजे भाइ हुन्। छोरी जेठी हो, ऊ कान्छो हो। ऊ भन्दा छोरी ठूली थिई। एक्लैले कसरी मार्यो भागरथीलाई मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,’ भागरथीकी आमा द्रोपतीले भनिन्।
हिजोसम्म सामूहिक बलात्कार भन्ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्ने यो हत्यारा लुकाउने खेल भएकोे द्रोपतीको भनाइ छ। द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन्। “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन। तबसम्म म शव पनि बुझ्दैन। अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु। न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन। म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,’ उनले भनिन्।