काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि नछोड्ने बताएका छन्। बुटवलमा आफू पक्षीय नेकपाको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधीहरु उम्किन नसक्ने र केही समयमै पक्राउ पर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, “केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्। यस्ता अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन ।”
प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याउने बताए।
ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए ।
‘जीवन केही होइन भनेर होमिन सिकाउने, टाउकोमा कात्रो बाँधेर हिड्न सिकाउनेहरुले आफू सत्तामा पुग्ने भर्याङमात्र बनाए, त्यो जगजाएर छ,’ प्रधानमन्त्री ओलीले भने ।
‘शाहदत भएका, अंगभंग भएकाहरु कस्तो अवस्थामा छन्, सबै पीडितको हालत के छ ?,’ ओलीले भने, ‘हिजो प्रचण्डले उचालेर झुटा सपना देखाएका घाइते लडाकु सबै प्रकारका पीडितलाई सम्मानपूर्वक परिचयपत्र वितरण गर्छौँ । उनीहरुका घरका एक सदस्यलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गर्छौं ।’
ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।’
उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी समृद्ध र सुशी नेपाल बनाउँछौँ, यस काममा जुट्न सबैलाई आग्रह गर्न चाहान्छु ।’