सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज २६औं जनयुद्ध दिवस

शनिबार, फाल्गुन १ २०७७

काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् ।

वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो।संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।

रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्, ‘भरुवा बन्दुकको घरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले मलाई गरेको विश्वासप्रति गर्व महसुस भएको थियो ।’ बिहानपख २ बजे माओवादीहरुले आठबिसकोट चौकीबाट हतियार तथा बन्दोबस्दीका समान कब्जामा लिएका थिए ।

नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो ।

जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ। शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन्‌। प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टी र साविक नेकपा एमालेबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीमा अहिले दरार उत्पन्न भएको छ। 

जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष भएका छन्‌। मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्‌। विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ।