शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विप्लवलाई सार्वजनिक हुन आह्वान

शुक्रबार, माघ ३० २०७७

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य (किरण)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच बिहीबार मोर्चाबन्दी भएको छ ।

प्रतिनिधिसभा विघटन र चुनाव घोषणासँगै सरकारले विप्लव समूहसँग वार्ताका लागि पहल गरेको छ भने प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय सकारात्मक भएको विप्लव पार्टीका नेताहरुको प्रतिक्रिया आउन थालेको छ ।

सुरक्षा कारबाहीमा विप्लव समूहको शक्ति छिन्नभिन्न बनेका कारण शक्ति बढाउने दाउमा खुला राजनीतिमा भएका पार्टीसँग सहकार्यको हात बढाएको देखिन्छ । त्यसयता देशभरबाट २ हजार ५२ नेता र कार्यकर्ता पक्राउ परेकामा ९० जना सोधपुछपछि रिहा भए भने १ हजार ९ सय ६२ जनामाथि अदालत र प्रशासनमा मुद्दा दर्ता भएको छ ।

त्यसमध्ये १ हजार ८ सय १ साधारण तारिख र धरौटीमा छुटे भने १ सय ३५ जना पुर्पक्षका क्रममा जेलमा छन् । सचिवालय सदस्य बाँस्तोलासहित २८ जना अहिले अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । प्रतिबन्धयता विप्लव समूह भूमिगत भएरै आफ्ना गतिविधिमा केन्द्रित छ । चन्दा आतंकदेखि विस्फोट र आगजनी हुँदै व्यक्ति हत्यासम्मका अपराधमा विप्लव समूहको संलग्नता छ । विप्लव समूहले हिंसात्मक गतिविधि त्याग्ने कुनै छनक देखाएको छैन ।

तर विप्लव समूहले पनि विकसित घटनाक्रमको उपयोग गर्दै नयाँ कार्यकर्ता उत्पादन र संगठन विस्तारको अपेक्षा राखेको देखिन्छ । त्यसैको पूर्वाभ्यासका रूपमा विप्लव समूहले अरू साना कम्युनिस्ट पार्टीसँग रणनैतिक एकता गरेको कतिपयको बुझाइ छ ।

रणनैतिक शक्ति सन्तुलनको स्थितिमा आफूलाई उभ्याउन संयुक्त मोर्चाले पनि आन्दोलनको घोषणा गर्दै जनतासँग जोडिने बताएको छ । मोर्चाका एजेण्डा र विप्लव समूहले सरकारसँग अनौपचारिक रुपमा राखेका सर्त उस्तै उस्तै छन् ।

सरकारसँगको अनौपचारिक वार्तामा विप्लव समूहले प्रतिबन्ध फुकुवा गर्न, आफ्ना नेता–कार्यकर्ता रिहा गर्न र वार्ताका लागि औपचारिक आह्वान गर्न माग गरेको छ ।

रणनैतिक संयुक्त मोर्चाले पनि प्रमुख एजेण्डाका रुपमा उक्त कुरालाई अगाडि सारेको छ । यस्तै समाजवादउन्मुख संविधानको ठाउँमा वैज्ञानिक समाजवाद र देशभक्त, राष्ट्रवादी शक्ति सम्मिलित संयुक्त जनसरकारको गठन मोर्चाको माग छ ।

मुख्य राजनीतिक दल विभाजित भइ व्यवस्थामाथि चनौती खडा हुँदै गएकाले आफ्ना एजेण्डा जनताका माझमा लिएर सम्बोधनका लागि दबाब बढाउने मोर्चाको रणनीति छ ।

त्यसका लागि रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको छ । समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाललगायत छन् ।

मोर्चाको नेतृत्व आलोपालो रुपमा ६÷६ महिनामा पार्टीगत रुपमा फेरिने छ । केन्द्र र प्रदेश समितिमा हाललाई १५ जना रहनेछन् भने जिल्ला तहमा ११ सदस्यीय समिति बनाइने अवधारणापत्रमा उल्लेख छ ।

मोर्चामा सबैबाट पार्टीहरूबाट समान संख्यामा प्रतिनिधि रहनेछन्, साथै घटकहरूको सहमतिमा थप पार्टी तथा स्वतन्त्र व्यक्तित्वहरू सामेल गर्दै जाने नीति लिइने बताइएको छ । त्यस्तै मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।

मोर्चाले फागुन ६ गते बुटवलमा, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभाको घोषणा गरेको छ । रणनैतिक संयुक्त मोर्चाका सदस्य सिपी गजुरेलले तेस्रो जनआन्दोलनको नेतृत्व यही मोर्चाले गर्ने दाबी गरेका थिए । नागरिक अगुवाहरु तेस्रो जनआन्दोलनको उद्घोष गरिसकेकाले आफूहरुको मार्चाले सबैलाई सबैलाई समेटेर जाने बताएका थिए ।

रणनैतिक संयुक्त मोर्चाको मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच एकीकरण र पार्टी एकता भएका वैद्यको भनाइ थियो । मोर्चामा अन्य दलहरुलाई पनि समावेश गर्दै अगाडि बढ्ने बताइएको छ । यस्तै आवश्यक परे अर्को युद्ध गर्न मोर्चा तयार रहेको वैद्यको उद्घोष थियो ।

‘आवश्यक परे फेरि अर्को युद्ध गर्न तयार छौँ । यस्तो भन्दा मानिसले पत्याउँदैनन् । हिजो राणा ढल्दैन भन्थे पञ्चायत ढल्दैन भन्थे राजा ढल्दैन भन्थे तर ढले । संसदीय व्यवस्था असफल भएको छ । अब संसदीय व्यवस्थाले काम गर्दैन । दक्षिणपन्थी संशोधनवादको पनि असफलता हो,’ वैद्यले भने ।

वैद्यले भने, ‘विप्लव नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाइयोस् । पक्राउ नेता कार्यकर्तालाई तुरुन्त खारेज होस् । मुद्दाहरु राजनीतिक हुन् । राजनीतिक रुपमा समाधान होस् ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नयाँ चिन्तनका साथ कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनु जरुरी रहेको बताएका थिए । जनतालाई एकताबद्ध गरी जनताकै शासन स्थापना गर्नतर्फ आफूहरुको मोर्चा अग्रसर रहेको उनको भनाइ थियो ।

यस्तै उनले विप्लव माथिको प्रतिबन्ध हटाउन माग गर्दै पक्राउ नेता कार्यकर्ता नछाडे जेलका ढोका फोडेर क्रान्तिको सुरुवात गर्ने चेतावनी दिए । राज्यसत्ता खारेज गरेर जनताको राज्यसत्ता स्थापनाको मोर्चाले नेतृत्व गर्ने कट्टेलको उद्घोष थियो ।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहूति)ले जनताले परिवर्तनको आभास नपाएकाले नयाँ क्रान्ति आवश्यक भएको बताए ।

संसद् पुनःस्थापना गरेर मात्र परिवर्तन सम्भव नहुने उनको भनाइ थियो । ‘यो असफल व्यवस्था खारेज गरेर,यो राज्यसत्ताको विस्थापन गरेर जनताको राज्यसत्ता नबनाउँदा सम्म यो समस्या समाधान हुन्न,’ उनले भने ।

आहूतिले विप्लवमाथि लागेको प्रतिबन्ध हटाइनुपर्ने माग गरे । उनले प्रतिगमन पुस ५ गतेबाट नभइ दोस्रो संविधानसभाबाट भएको उद्घोष गरे । उनले अहिले राज्यसत्तामा प्वाल परेको भन्दै त्यसलाई क्रान्तिले ठूलो भ्वाङ पार्ने बताए । त्यसका लागि अब विप्लव पनि सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो ।