बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का प्रक्रिया शुरु

बुधबार, माघ १४ २०७७

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मालपोत कार्यालयबाट रोक्का प्रक्रिया सुरु गरिएको छ ।
जग्गा आपूर्ति ऐनअन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको पछिल्लो बैठकले आवश्यक पर्ने क्षेत्रफलभित्रका व्यक्तिको जग्गा यकिन गर्न मालपोत कार्यालयलाई निर्देशन गरेको हो ।
विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नुअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले बाउन्ड्री ‘बेन्च मार्क’ सर्भे गरिसकेको छ । त्यसैका आधारमा त्यस क्षेत्रभित्र पर्ने व्यक्तिका सबै जग्गाको तीनपुस्ते विवरण यकिन गरेर खरिद–बिक्री रोक्न मालपोत र नापी कार्यालय, विराटनगरलाई जिम्मेवारी दिइएको हो ।
साविक विमानस्थ विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको छ ।
विराटनगर विमानस्थलका प्रमुख उत्सवप्रसाद खरेलका अनुसार विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको छ । बाउन्ड्री सर्भेभित्र परेका जग्गाको कित्ता नम्बर नापी कार्यालयले यकिन गरिसकेको छ । अब मालपोत कार्यालयले त्यो जग्गाको तीनपुस्ते विवरण तयार पार्नेछ ।
विमानस्थल विस्तारको प्रारम्भिक चरणमै नयाँ टर्मिनल भवन निर्माण गरिने भएकाले साविक विमानस्थलको पूर्व–उत्तरतर्फको जग्गा आवश्यक पर्नेछ । त्यसका लागि प्राधिकरणले चालू आर्थिक वर्ष २०७७÷७८ भित्रै जग्गा अधिग्रहण गर्ने योजना राखेको छ ।
प्राधिकरणले दस वर्षभित्रमा विराटनगर विमानस्थललाई दुई हजार पाँच सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जग्गाबाहेक १३ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ ।
सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ । यसैगरी २०२४–२०२६ मा वास्ता (पानी ढलो) तीन किलोमिटर डाइभर्सन र एप्रोज लाइट व्यवस्थापन लगायतका लागि दुई अर्ब रुपियाँ खर्चने अनुमान गरिएको छ । २०२७–२०३० मा सात अर्ब बराबरको थप संरचना निर्माण गरिने लक्ष्य राखिएको छ । आजको गोरखापत्र दैनिकबाट