बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पुरानो मिति राखेर प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित

आइतबार, माघ ११ २०७७

सरकारले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा पुरानो मिति राखेर बिहीबार मात्र प्रकाशन गरेको खुलेको छ । तर, ५ पुसमै सूचना प्रकाशन गरेको भनेर सरकारले सर्वोच्च अदालतलाई झुक्याउने प्रयास गरेको छ । 

rajpatra.jpg

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि भइरहेको सुनुवाइका क्रममा बिहीबारको बहसमा अधिवक्ताहरूले विघटनको सूचना राजपत्रमा प्रकाशन नै नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले राजपत्र झिकाउन आदेश गरेको थियो । 

स्रोतका अनुसार अदालतमै प्रश्न उठेपछि सरकारले बिहीबार रातारात पुरानो मिति राखेर सूचना प्रकाशन गरेको हो । जुन, शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले अदालतमा पेस गरेका छन् । वेबसाइटमा भने सूचना शुक्रबार बिहान मात्रै प्रकाशित गरिएको छ । 

स्रोतका अनुसार अदालतको आदेशपछि सरकारले बिहीबार मुद्रण विभागलाई यससम्बन्धी पत्राचार गरेको थियो । त्यसकै आधारमा राति ५ पुसकै मिति राखेर राजपत्रमा छापिएको थियो । वेबसाइटमा भने शुक्रबार बिहान मुद्रण अधिकृत सुनिता रेग्मीले प्रकाशन गरेको स्रोतले जनाएको छ । 

मुद्रण विभागका अधिकारीहरू यस विषयमा औपचारिक रूपमा बोल्न चाहँदैनन् । ‘बिहीबार बेलुका पत्र आएको थियो, राति हतारहतारमा प्रेसमा पठायौँ । बिहानै वेबसाइटमा प्रकाशन गरिएको हो,’ विभागका एक अधिकारीले भने । विभागमा पत्र आएको २४ घन्टाभित्र सूचना तथा ऐन–नियमहरू प्रकाशन गरिन्छ । यसअघि ५ पुसको मितिमा विभागको वेबसाइटमा कुनै सूचना थिएन । 

प्रतिनिधिसभा विघटनसम्बन्धी वेबसाइटमा राखिएको राजपत्र प्रकाशनको क्रमसंख्याले पनि पुरानो मिति राखेर प्रकाशन गरिएको पुष्टि हुने विभागकै एक प्राविधिक कर्मचारीले बताए । वेबसाइटमा विघटनसम्बन्धी राजपत्रको क्रमसंख्या २४३३२ छ । जब कि माघमा प्रकाशित भएका अन्य राजपत्रको क्रमसंख्या योभन्दा मुनि छ । ५ माघमा होटेलहरूसम्बन्धी राजपत्रको क्रमसंख्या २४३३१ छ । ‘यसबाट पनि विघटनसम्बन्धी सूचना राजपत्रमा हालै मात्र प्रकाशित भएको प्रस्ट बुझ्न सकिन्छ,’ ती कर्मचारीले भने । 

कुनै पनि ऐन–नियम तथा निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयन हुन्छन् । यसअघि प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिलाई पठाउँदासमेत दुईवटा पत्र सार्वजनिक भएका थिए । अदालतमा पेस गरिएको त्यससम्बन्धी फाइल सरकारले अदालतबाट फिर्ता लगेर फेरि बुझाएको थियो । जसमा कतिपय अधिवक्ताले प्रश्न गरेका छन् । आजको नयाँ पत्रिका बाट