नयाँदिल्ली– भारतीयहरूसँग सम्बन्धित डाटा ब्रिचमा नयाँ घटना देखापरेको छ । साइबर सुरक्षाविज्ञ राजशेखर राजाहरियाका अनुसार दिल्ली-एनसिआरमा रहेको ग्लोबल क्रिप्टोकरेन्सी एक्सचेन्ज र वालेट बायोक्वाइनको ३ लाख २५ हजार युजर्सको संवेदनशील डाटा डार्क वेबमा फेला पारिएको छ ।
त्यसमा डाटा युजर्सको नाम, इमेल, मोबाइल नम्बर, एन्क्रिप्टेड पासवर्ड, प्रयोगकर्ताको वालेट विवरण, अर्डर विवरण, बैंक विवरण, केवाइसी विवरण ९प्यान कार्ड, राहदानी नम्बर०, बैंकिङ कारोबारसम्बन्धी जानकारीहरू समावेश हुन्छ । राजाहरियाले भने, ‘वित्तीय, बैंकिङ र केवाइसी विवरणरू डार्क वेबमा आइपुग्नु धेरै गम्भीर ह्याक हो ।’
साइबर सुरक्षा फर्म केला रिसर्च एन्ड स्ट्रेटेजी लिमिटेडका अध्ययनकर्ताहरूले सर्वप्रथम डाटा चोरी भएको पत्ता लगाएका थिए । उनीहरूले साइनहन्टर्स ह्याकिङ ग्रुपले यस्तो कार्य गरेको बताएका छन् । केला रिसर्चका गुप्तचर विश्लेषक भिक्टोरिया किभिलेविचले गत ग्रीष्म ऋतुमा साइनहन्टर्स निस्शुल्क रूपमै डेटा चुहावटबारे प्रकाशित गरेको देखिएको बताए। साइनिङहन्टर्सले निस्शुल्क अनलाइन फोटो सम्पादन साइट पिक्सेलरबाट १ करोड ९० लाख युजरको डेटा हालै चोरेको थियो । राजाहरियाले भने, ‘यही ह्याकर बिगबास्केट र ज्यापेको डाटा लिकमा पनि संलग्न थियो ।
गत वर्ष नोभेम्बरमा अनलाइन किराना स्टोर बिगबास्केटका दुई करोडभन्दा बढी प्रयोगकर्ताको डाटा ह्याक गरिएको थियो । उक्त डाटा डार्क वेबमा करिब ४८ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।‘अहिले त्यही ह्याकरले बिगबास्केट डाटाबेसका लागि बिटक्वाइन्समा १० हजार डलरबारे सोध्दै छ,’ राजाहरियाले भने, ‘उसले तीन कम्पनीका डाटाबेस पनि बेच्दै छ।’यस महिनाको सुरुमा बैंगलोरमा रहेको डिजिटल भुक्तानी गेटवे जसपेले मास्क गरिएको कार्ड डाटा र कार्ड फिंगरप्रिन्टसँगै करिब ३ दशमलव ५ करोड रेकर्ड ह्याकरले ह्याक गरेको बताएको थियो । क्लिकिन्डिया, चेकबुक र वेडमिगुडजस्ता तीन भारतीय कम्पनीहरूका डाटा पनि यिनै ह्याकरले ह्याक गरेको राजाहरियाले खुलाए ।
क्लिकिन्डियाका करिब ८० लाख युजर्स, चेकबुकका १० लाख र विडमिगुडका १३ लाख युजर्सका डाटा लिक भएको उनले बताएका थिए ।बायोक्वाइनले आफ्नो स्पष्टीकरणमा गत वर्ष डाटा ब्रिचबारे जानकारी भएको बताएको थियो । त्यसमा जम्मा दुई सय व्यक्तिको डाटा थियो । त्यसमा कुनै पनि संवेदनशील डाटा पनि थिएन । त्यसबाट कुनै पनि युजर्सलाई हानि पुगेको थिएन । बायोक्वाइन जुलाई २०१६ मा सुरु भएको थियो । यो एक क्रिप्टो वालेट र एक्सचेन्ज प्लेटफर्म हो । यहाँ बिटक्वाइन, एथेरियम, रिपलजस्ता डिजिटल सम्पत्तिको कारोबार गरिन्छ । यस कम्पनीले ३ लाख ५ हजारभन्दा बढी ग्राहक भएको दाबी गरेको छ ।