बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६० मुलुकमा देखियो नयाँ कोरोना

बुधबार, माघ ७ २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन ले कोरोना भाइरसको नयाँ प्रकार कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ ।

पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ ।

अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकहरु समस्यामा परेका छन् ।

अहिले धेरै मुलुक कोरोना विरुद्धको खोप धेरै मानिसहरुमा पुगेपछि संक्रमण नियन्त्रणमा आउने आशामा छन् ।

डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ ।

डब्ल्यूएचओका अनुसार पछिल्लो एक सातामा विश्वभर कोरोनाको कारण ९३ हजारको मृत्यु भएको छ ।

एकैसातामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यो अवधिमा ४७ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक हुने विशेषज्ञहरुले बताउँदै आएका छन् ।