अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थक (केही हतियारसहितका) लाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।
ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटले त्यसलाई पारित गरेको थिएन र ट्रम्प सत्ताच्यूत हुनबाट जोगिएका थिए ।
अहिले उनीमाथि संसद भवनमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान जाने गरि भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा दर्ता भएको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो । स्थानीय समय अनुसार बुधबार भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा उनको पार्टी रिपब्लिकनका १० सांसदले पनि पक्षमा मतदान गरे तल्लो सदनले महाअभियोगका पक्षमा २३२ तथा विपक्षमा १९७ मत परेको हो ।
महाअभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै सभामुख न्यान्सी पेलोसीले कोही पनि संविधान भन्दा माथि नरहेको बताएकी छन् । उनले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थालाई सक्रिय पारी ट्रम्पलाई सत्ताबाट हटाउन अपिल गरेकी थिइन् । त्यस सम्बन्धी प्रस्ताव तल्लो सदनले पारित पनि गरेको थियो । तर उपराष्ट्रपति पेन्सले त्यसो नगरेपछि तल्लो सदनले महाअभियोग प्रस्ताव अघि बढाएको हो ।
जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई औपचारिक प्रदान गर्नका लागि तल्लो र माथिल्लो सदनको संयुक्त सत्र जारी रहेका बेला नतिजा अस्वीकार गरेका ट्रम्पको उक्साहटमा उनका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए । सोही कार्यका लागि ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा तल्लो सदनले मतदान गरेको हो ।अमेरिकी इतिहासमा ट्रम्प महाअभियोग दुई पटक लाग्ने पहिलो राष्ट्रपति हुन् । तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरे पनि यसअनुसार ट्रम्पलाई दोषी ठहर गर्नका लागि माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पास गर्नु पर्छ ।