बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लाइसेन्सको नयाँ मापदण्ड उपभोक्ताले पाउने झन्झटको समाधान

बुधबार, पुष २९ २०७७

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को मापदण्ड परिमार्जन गरी उपभोक्ताले पाउने झन्झटको समाधान गर्ने भएको छ। हालसम्म प्रश्नपत्र  गोप्य रहँदै आएको त्यस्तै ट्रायलमा तोकिएअनुसार पुरै पास गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई परिमार्जन गरी सजिलै पास गर्ने व्यवस्थासहितको मापदण्ड ल्याउन लागिएको हो। विभागले नयाँ मापदण्डको छलफल अन्तिममा पुगेको जनाएको छ। यो मापदण्ड माघ महिनाभित्र स्वीकृत गराएर फागुन पहिलो सातादेखि कार्यान्वयनमा ल्याउनेगरी तयारी गरिएको विभागले जानकारी गराएको छ।

के छ त नयाँ मापदण्डमा ?

नयाँ मापदण्डमा समेत सबै प्रक्रिया पूरा गर्नुपर्ने छ।

लिखित परीक्षा: विभागले परिमार्जित मापदण्मा लिखित परीक्षाका लागि सोधिने प्रश्न ‘आउट’ हुनेछ। यसअघि गोप्य रुपमा दिइने प्रश्न नयाँ मापदण्ड आएपछि सार्वजनिक हुनेछ। लाइसेन्स लिन चाहने व्यक्तिले लिखित परीक्षा दिनुपूर्व नै प्रश्न पढेर परीक्षामा सामेल हुन पाउनेछन्। यसरी परीक्षा दिँदा अधिकांश परीक्षार्थी उतिर्ण हुनेछन्। परीक्षार्थीलाई सहजीकरण गर्ने भन्दा अनावश्यक नियम लगाएर अनुतिर्ण गर्दा लाइसेन्स लिनेका लागि सँधै भिड लाग्ने अवस्था नयाँ मापदण्डले अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

प्रयोगात्मक परीक्षा: हाल ट्रायल पास गर्नका लागि ट्रायलको सबै प्रक्रिया पास गरेर निस्कनुपर्छ। अन्तिममा लाइटअनुसार बाहिरिएन भने समेत अनुतिर्ण हुन्छ। तर अब भने ट्रायल परीक्षालाई १ सय पूर्णांक मानेर ६० ल्याउनेलाई लाइसेन्स प्रदान गर्ने व्यवस्था हुनेछ। ट्रायलका लागि १ सय पूर्णांकमा एटको १० अंकभार, लाइटको १० अंकभार, ओरालो उकालोको १० अंकभारलगायत गरेर १० वटा इन्टिकेटर बनाइनेछ। यसमध्ये ६ वटा पास गर्ने परीक्षार्थीलाई लाइसेन्स दिइने प्रस्ताव विभागले गरेको छ।

कोरोना भाइरसको संक्रमणका कारण ९ महिनादेखि लाइसेन्सको परीक्षा रोकिएको थियो। पुस १४ गतेबाट भने लाइसेन्सको फारम खुल्ला गरिएको छ। तर लाइसेन्स लिन चाहनेको संख्या ज्यादै ठूला भएकाले सर्भरमा समेत समस्या देखिएको विभागको भनाइ छ। हाल विभागले लाइसेन्सको फारम भर्नका लागि कोटा तोकेको छ। विभागले लाइसेन्सको फारमका लागि तोकिएको कोटा आगामी दुई÷तीन साता भित्र हटाउने तयारी समेत गरेको छ। विभागको सर्भर स्तरोन्नति गरी चाहेजतिले फारम भर्न पाउने व्यवस्था गर्न लागिएको हो। यसले फारम भर्न चाहनेको समस्या समाधान भएपनि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा भने समस्या हुने नै छ।