अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध पुनः महाअभियोगको तयारी भएको हो ।
सभामुख न्यान्सी पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्यूत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको सिएनएनले जनाएको छ ।
२५ औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टा भित्र जवाफ दिनु पर्ने छ।
अहिलेसम्मका रिपोर्टिङ्गहरुमा पेन्स २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा देखिएका छैनन् । तर सिएनएनका चिफ ह्वाइट हाउस रिपोर्टर जिम एकोस्टाका अनुसार पेन्सले २५ औँ संशोधनको विकल्पलाई पूर्ण रुपमा बन्द भने गरेका छैनन् ।
पेन्सको जवाफ सोचे जस्तो नआएमा मंगलबार तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान गर्ने तयारी भएको छ ।
डेमोक्र्याटहरुले संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा बिद्रोहका लागि उक्साएको अभियोग लगाउने तयारी गरेका छन् ।
बुधबार गएको नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएको जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न तल्लो तथा माथिल्लो सदनको संयुक्त सत्र चलिरहेको थियो ।